बाँकेको ढकेरीबाट छुटेको जीप सल्यानमा दुर्घटना, ८ जनाको मृत्यु

सल्यान : सल्यान जीप दुर्घटनामा मृत्यु भएका मृतक ८ जनाको पहिचान खुलेको छ ।

बाँकेको ढकेरीबाट छुटेको जीप राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ मूलपानी नजिक बुधबार बिहान साढे ३ बजे दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।

सल्यान प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा कपुरकोट गाउँपालिका जलवाङका जीप चालक २१ वर्षीय जितबहादुर बोहोरा, ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली र उनका छोरा ११ वर्षीय वसन्त ओली छन् ।

यस्तै, कपुरकोट गाउँपालिका ६ कै ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र कपुरकोट गाउँपालिका ५ का ३५ वर्षीय ललित ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।

दुर्घटनामा परेको रा १ ज ५६३ नम्बरको जीपमा जम्मा ९ जना सवार थिए । तीमध्ये एक जना घाइते भएका छन् ।

घाइते कपुरकोट ६ का ३५ वर्षीय तिलक ओलीको प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया