अपाङ्गता भएका बालबालिकाका अभिभावकलाई परामर्श

नेपालगन्ज : नेपालगन्जमा अपाङ्गता भएका बालबालिकाका अभिभावकहरुसंग परामर्श गरिएको छ । सबैका लागि पढाई कार्यक्रम अन्तर्गत ति अभिभावकहरुलाई बालबालिकाको शिक्षाका विषयमा जानकारी तथा परामर्श गरिएको हो । अपाङ्ग सशक्तिकरण तथा सञ्चार केन्द्र(डेक नेपाल)द्धारा संचालन गरिएको सबैको लागि पढाई परियोजनाले नेपालगन्ज क्षेत्रमा रहेका अपाङ्गता बालबालिकाको शिक्षामा पहुँच र पछिल्लो अवस्थाका बारेमा परामर्श गरेको हो ।

परामर्श कार्यक्रममा बोल्दै अधिकाशंले बच्चाको शिक्षाको लागि अभिभावकको भुमिका महत्वपुर्ण हुने बताएका थिए । कार्यक्रममा बोल्ने अभिभावकहरु नै आफ्नो बच्चाको लागि सुरुमा अभिभावक नै चनासो हुन आवश्यक रहेको औलाएका थिए । कार्यक्रममा शिक्षा महाशाखा नेपालगन्जका अधिकृत भिम बहादुर बुढाले बालबालिकाको भविस्य उज्वल बनाउन अभिभावक नै अलि बढि सक्रिय हुन आवश्यक रहेको बताउँदै उनले अपाङ्गता भएका बालबालिकाको शिक्षामा कुनै अवरोध हुन नहुने बताए । अधिकृत बुढाले बालबालिकाको शिक्षामा कुनै समस्या आइपरे समाधान गर्न आफु लागिपर्ने उल्लेख गरे । संचालित परियोजनालाई नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालय, युएसआईडि, एचआई, विश्व शिक्षा लगाएतले सहकार्य समन्वय गरेको र त्यसको प्रभाव अपाङ्गता भएका बालबालिकामा सकारात्मक देखिएको डेक नेपालका कार्यकारी निर्देशक देविदत्त आचार्यले बताए । समुदायमा अपाङ्गता भएर पनि शिक्षाको ज्योतिबाट टाढा रहन बाध्यभएका बालबालिकाहरुलाई परियोजना मार्फत सहयोग गरि शिक्षा लिने बातावरण मिलाईएको कार्यकारी निर्देशक आचार्यले जनाए ।

परियोजनाले विद्यालयमा गरिने अपाङ्गताको प्रारम्भिक परिक्षण कार्यमा अभिभावकको सहभागिताका लागि प्रोत्साहित गर्ने, अपाङ्गता भएका वा कार्यरत सिमितता भएका बालबालिकाहरुको आवश्यकता पहिचान गर्न सहयोग गर्ने, अभिभावकहरुमा अपाङ्गता भएका बालबालिकाहरु प्रति सकारात्मक धारणाका लागि प्रोत्साहन गर्ने, बालबालिकाहरुको पढाई सिकाई सुधारमा जिम्मेवार बनाउने बालबालिकाको स्याहरसुसार हेरचाह बारे एक आपसमा अनुभव आदानप्रदान गर्ने उदेश्यले परियोजना संचालन गरिएको कार्यकारी निर्देशक आचार्यले बताए ।

परियोजना मार्फत हालसम्म ३ सय ५६ बालबालिका र अभिभावकलाई परामर्श प्रदान गरिसकिएको छ । परियोजना मार्फत बाँकेको राप्ती सोनारी र नेपालगन्जमा गरेर ४ सय जनालाई परामर्श प्रदान गर्ने लक्ष्य रहेको डेक नेपालका समावेशि शिक्षा अधिकृत उमा चौधरीले बताइन । परियोजनाको मोनिटरिङ्ग स्थानिय शिक्षा शाखा र डेक नेपाल तथा पालिका स्तरीय विद्यार्थि प्राविभिक लेखा जोखा समितिले गर्दै आएको छ ।

प्रतिक्रिया