एमसीसी पास गर्ने समयसीमा तीन दिन बाँकी

एमसीसी सँगको सम्झौतामाथि छलफल थाल्न संसद् बैठक बस्दै छ । आज दिउँसो १ बजे संसद् बैठक बस्नुअघि नै सहयोग खोज्दै सत्तासीन कांग्रेसले विपक्षी एमालेसँग छलफल गर्ने छ ।

हिजोबाटै सम्झौतामाथि सैद्धान्तिक छलफल गर्न संसद्को कार्यसूची तय गरिएको थियो । तर थप राजनीतिक छलफल आवश्यक परेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बैठक आजका लागि स्थगित गरिएको हो ।


सत्ता गठबन्धमा रहेका माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले एमसीसी सम्झौताको विपक्षमा मत हाल्ने निर्णय गरिसकेका छन् भने जनता समाजवादी पार्टी (जसपा) अनिर्णित छ । कित्ता प्रस्ट पार्न जसपा कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

सरकार नेतृत्वकर्ता कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमसीसी सम्झौता अनुमोदनको पक्षमा मत दिने निर्णय गरिसकेका छन् । त्यसैले कांग्रेसले अहिले एमालेको सहयोग खोजिरहेको छ ।

उसले साथ दिएको अवस्थामा एमसीसीमाथि सैद्धान्तिक छलफल चलाउन र अनुमोदन गर्न सजिलो हुने छ । यद्यपि, एमालेका केही सर्त छन् । यसबारे आज छलफल हुने सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिकमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले ८ फागुनमा एमसीसी सदनमा टेबल गरेको हो । एमालेले साथ दिए आजको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल हुनेछ । एमसीसी सम्झौता १६ फागुन १६ (फेब्रुअरी २८) भित्र अनुमोदन गर्नुपर्ने सर्त अमेरिकाको छ ।

प्रतिक्रिया