प्रौढ शिक्षाले बदलेको जीवन

निशु जोशी

बाँके, नेपालगन्ज : प्रौढ शिक्षाले जीवन बदलेको नेपालगन्जका महिलाहरुले बताएका छन् । प्रौढ कक्षामा सहभागी भएका महिलाहरुले साक्षर भएपछि अक्षर चिन्ने, हस्ताक्षर गर्ने मात्रै नभई व्यवसायीक रुपमा अघि बढ्न समेत पढाइले सघाएको बताएका छन् । व्यापार, व्यवसाय गर्नुका साथै घरायसी जीवनमा समेत पढेपछि सिप काम लागेको उनीहरुको भनाई छ ।
हाल नेपालगन्ज १९ मा बस्दै आएकि भिम कुमारी गुरुङले बाल्यकालमा पढ्न पाइनन् । दैलेखमा जन्मिएकि उनी गोठालो जाँदैमा समय वितेको सुनाउछिन् । प्रौढ कक्षामा सहभागि भएपछि जविन नै बदलिएको उनले बताइन् ।

‘प्रौढ पढ्नका लागि म आँखा जाँच गर्न फुल्टेक्रा आँखा अस्पतालमा गए । ३ हजारको चस्मा किने । चस्मा लगाएर रातिको एक बजेसम्म पढ्न थाले’ पढाईको महत्वबारे उनि भन्छिन् – ‘अहिले पढाईले मेरो आँखा खुल्यो । अहिले म व्यापार गर्छू । आफैले हिसाब गर्छु । पढ्न लेख्न जान्ने भएपछि श्रीमानले पनि बधाई दिनुभयो ।’

अहिले उनी एक्लैले पसल हाक्न थालेपछि उनका श्रीमान पनि दंग परेका छन् । गुरुङका श्रीमान सरकारी जागिरे हुन् । तर आजभोली उनी श्रीमानभन्दा बढी घरमै बसेर व्यापारबाट कमाइरहेको दाबी गर्छिन् । उनी पसलसंगै बुचरको काम गर्छिन् । बाख्रा पनि पालेकि छिन् ।

पहिले श्रीमानमा भर पर्ने उनी प्रौढ कक्षापछि आत्मनिर्भर भएकि छिन् । उनी जस्तै नेपालगन्ज १८ कारकादोमा बस्दै आएकि हिरा चौधरीको जीवन पनि प्रौढ शिक्षाले बदलिएको छ । ‘पहिले सानो तिनो खर्च आवश्यक परे श्रीमानसंग माग्नु पथ्र्यो । आजभोली पढ्न लेख्न जान्ने भएपछि आफै कमाउन थालेको छु ’ उनले भनिन् । उनी घरको कामसंगै सिलाईकटाई पनि गर्छिन् । थ्रेडिङ, च्याउ उत्पादन लगायतका कामबाट समेत बेला मौकामा कमाई गर्दै आएकि छिन् ।

‘पहिले छोराछोरीले अनपढ गवार भन्थे । किन पढ्नु पर्‍यो भन्थे । आजभोली मैले आफै कमाई गरेर उनिहरुलाई दिन थालेपछि हाम्रो मम्मी राम्रो हुनुहुन्छ भन्छन् ।’ यससंगै श्रीमानको पसलमा पनि उनी सघाउदै आएकि छिन् ।
उनीजस्तै यसक्षेत्रका अधिकांश महिलाहरु प्रौढ कक्षाले जीवन बदलिएको बताउछन् । अझै पढ्ने चाहाना भएकाले यस्ता कक्षा अझै सन्चालन होस् भन्ने उनीहरुको चाहाना छ ।

प्रतिक्रिया