नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले कुनैपनि दलसँग आधारभुत रुपमा गठबन्धन नगर्ने प्रष्ट्याएका छन । तर, आवश्यकता अनुसार कुनै दलसँग सिटको आधारमा सहकार्य गरेर मात्र अगाडी बढ्न सक्ने उनले बताए । नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लिङ्देनले अहिलेसम्म नेकपा एमालेसँग सहकार्य गर्ने विषयमा छलफल अघि बढिरहेको जानकारी दिए ।
‘समाचारको रुपमा सुनाउने गरी ठोस निर्णय भएको छैन, एमालेसँग केही छलफल भएको छ, कुनै ठोस आकार लिएको छैन,’ अध्यक्ष लिङ्देनले भने ‘पार्टीको अध्यक्ष, महामन्त्री, उपाध्यक्षको सिट सुरक्षित नै हुन्छन् भन्ने तपाईले बुझनु भएकै छ ।’
देशलाई माया गर्ने राष्ट्रवादी शक्तीबीच सहकार्य गरेर अगाडी जाने कुरा चलिरहेको बताउँदै भने, ‘एजेण्डामा सम्झौता गर्ने होईन, सिटमा तालमेल मात्रै गर्ने हो ।’ पछिल्लो समयमा मुलुकमा बैदेशिक हस्तक्षेप बढिरहेको अध्यक्ष लिङ्देनले जिकिर गरे । सांसद पदबाट राजिनामा घोषणा गरेपछिको यो उनको पहिलो पत्रकार सम्मेलन हो ।
संसदमा राजिनामा दिएको प्रसंगमा बोल्दै अध्यक्ष लिङ्देनले सांसद हुँ भन्ने लाज लाग्न थालेपछि राजिनामा दिएको प्रष्ट्याए छन् । नेपालगन्जमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मंसिर गते ४ पछि पनि संसद कायम राख्ने गरी ऐन संशोधनको प्रस्ताव ल्याईयो, यो अति नै भयो, सांसद हुँ भन्न पनि लाज लाग्यो, त्यही भएर संसदमा गएर जानकारी गराएर राजिनामा घोषणा गरेको हुँ ।’
अरुले जे गरेपनि आफु यसमा सामेल नहुनका लागि राजिनामा घोषणा गरिएको बताए । ‘यो अनैतिक मात्र नभएर घोर अनैतिक काम हो, राष्ट्रिय प्रजातन्त्र पार्टी यस्ता अनैतिक काममा सामेल हुन सक्दैन,’ उनले भने । अहिले उक्त संसोधन प्रस्तावलाई सरकारले स्थगित गर्ने कुराको सूचना आफुलाई आएको बताए ।
सञ्चारकर्मीको प्रश्नमा लिङ्देनले ऐन नै संसोधन गरेर संसदको आयु मंसिर ४ गते पछिसम्म पनि लम्ब्याउन खोजेपछि आफु त्यो अनैतिक काममा सामेल नहुने गरी संसद पदबाट राजिनामा घोषणा गरेको बताए ।
प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन घोषणा भएपछि संसदलाई लम्ब्याउन नहुने र चुनावी सरकार बनाउनुपर्ने आफुहरुको प्रस्तावलाई सुनुवाई नगरिरहेको अवस्थामा ऐन संशोधन गरेर नै संसदको आयु थप्न खोजिएपछि राजिनामा घोषणा गरिएको बताए ।
बर्दियामा आयोगित पार्टी कार्यक्रमको शिलसिलामा अध्यक्ष लिङ्देन सहित पार्टीका शिर्ष नेताहरु नेपालगन्ज आईपुगेका हुन् ।