चोरी पैठारीबाट ३ करोड बढी राजश्व संकलन

नेपालगञ्ज : सशस्त्र प्रंहरी बल नेपाल नंम्बर.३० गण हेडक्वार्टर बागेश्वरी बाँकेले ३ करोड बढी राजश्व संकलन गरेको छ । गत माघदेखि यहि साउन मसान्तसम्म चोरी पैठारी नियन्त्रणको क्रममा ३ करोड ३६ लाख बढीको राजश्व संकलन गरेको हो ।

भन्सारबाट चोरी निकासी, गैर कानुनी रुपमा ओसार पसार गरिएको सामान नियन्त्रणमा लिएर भन्सार दाखिला गर्दा सो राजश्व दाखिला गर्न सफल भएको गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक जनक बस्नेतले जानकारी दिए ।

भन्सारबाट हुने चोरी निकासीको सामान बरामदबाट ३ करोड २५ लाख २६ हजार ७ सय ७६ रुपैया बराबरको समान नियन्त्रणमा लिएर भन्सार दाखिला गरिएको उनले बताए ।

बाँकेमा करिव ६७ किलोमिटर लामो खुला सीमाना रहेको छ । चोरी निकासी गर्नेहरु विभिन्न चोरबाटोको प्रयोग गर्ने भएकोले सोको नियन्त्रणको लागि गणको अधिनमा रहने गरी ८ वटा बिओपी, २ वटा वेश क्याम्प र २ वटा प्रस्तावित बिओपीबाट सीमा निगरानी, राजश्व चुहावट नियन्त्रणलगायतको काममा सशस्त्र प्रहरी खटिएको सशस्त्र प्रहरी उपरिक्षक बस्नेतले बताए ।

यसैगरी गणले विभिन्न मितिमा अबैध रुपमा जंगलबाट काठ काटेर ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिएर ७ लाख ८८ हजार १ सय ६० मुल्य बराबरको काठ र ल्याउन प्रयोग गरेको साधन समेत नियन्त्रणमा लिएर जिल्ला बन कार्यालयमा बुझाएको छ । २ लाख ९३ हजार ४ सय ६० रुपैया बराबरको माछा, मासु र अखाद्य बस्तु नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।

यसैगरी विभिन्न समयमा चाँदीको गहना ८ किलो २ सय ९६ ग्राम, यार्सागुम्बा ४ सय ५० ग्राम, तस्करीमा प्रयोग भएका ४ मोटर साईकल, २ पिकअप भ्यान र ३ अटो रिक्सा समेत नियन्त्रणमा लिएर भन्सार दाखिला गरेको जानकारी दिए ।

प्रतिक्रिया