नेपालगन्ज : बाँकेको स्थानीय तह जानकी गाउँपालिकामा करार कर्मचारी हटाउने बिषयको विवाद रोकिएको छैन । बाँकेको खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा करार कर्मचारी हटाउने बिषयमा ठुलै विवाद उत्पन्न भएको छ । खजुरा गाउँपालिका र जानकी गाउँपालिकाका हटाइएका करार कर्मचारीले मुद्दा दायर गरे संगै अदालतले छलफलको लागी बोलाएको छ ।
अदालतले दुबै पक्षलाई छलफलको लागी बोलाएको र छलफल नभएसम्म कर्मचारीलाई २०७३/१०/०१ देखी काम गर्दै आएका कर्मचारीलाई नियमित रुपमा हाजिर भै कामकाज गर्नबाट बन्चित नगर्न उच्च अदालत तुलसिपुर नेपालगन्ज इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ । उच्च अदालत तुलसिपुर नेपालगन्ज इजलासले कर्मचारीलाई नियमित रुपमा हाजिर भै कामकाज गर्नबाट बन्चित नगर्न भने पनि गाउँपालिकाले कर्मचारीलाई हाजिर गर्न नदिएको कर्मचारी टोपेन्द्र बिष्टले गुनासो गरेका छन् ।
अदालतको अल्पकालीन अन्तरिम आदेशको समेत ठाडो उलंघन गर्दै जानकी गाउँपालिकाले कर्मचारीलाई हाजिर र काम गर्न रोकेको हो । उता जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले भने अध्यक्ष बाहिर भएकाले गर्दा मात्रै उहाँ नआउदासम्म उक्त काम रोकिएको र पालिका अध्यक्ष आइ सके पछि अध्यक्षले तोक लगाए पछि हाजिर लगाउन दिने र नियमीत कामकाजमा फर्किन दिने बताएका छन् ।