
निशु जोशी
नेपालगन्ज, साउन : सिक्टा सिंचाई आयोजनाको पुर्वी मुलनहरलाई नरैनापुरको कटकुईयासम्म पुर्याउनका लागि सर्वेक्षण अगाडि बढाइने भएको छ । प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाको संयोजकत्वमा मंगलबार नरैनापुर गाउँपालिकामा बसेको बैठकले सर्वेक्षणलाई अगाडि बढाउने निणर्य गरेको हो । अबको एक साताभित्र सर्वेक्षणको काम सुरु गरिने सिक्टा सिंचाई आयोजनाका निर्देशक डा. सन्तोष कैनीले बताए । स्थानियको अवरोध नभएमा केहि महिनाभित्र सर्वेक्षण सकिने र अन्य काम अगाडि बढाउदै आगामी ३ वर्षभित्रमा यस क्षेत्रमा पानी पुर्याउन सकिने उनले बताए । यतिबेला सिंचाई सुविधा नहुँदा नरैनापुर गाँउपालिकाका किसानले लगाएको धान, विउ र बोटविरुवाहरु सुकेका छन् । वर्षा पनि नभएपछि बोटविरुवाहरु समेत सुक्न थालेका छन् ।
२ बर्ष पहिलेदेखि आयोजनाले यस क्षेत्रमा नहर निर्माणका लागि सर्वेक्षणको काम सुरु गरेपछि केहि जग्गाधनीले अवरोध गरेका थिए । स्थानीयले जग्गा दिन नमानेपछि पटक पटक प्रयास गर्दा पनि काम सुरु हुन सकेन । स्थानीयको अवरोधले पुर्वी मुल नहरको ९ किलोमिटर क्षेत्रमा काम अघि बढ्न नसकेको हो । पुर्वी मुल नहरको कुल ५३ किलोमिटर मध्ये ४४ किलोमिटरमा नहरको संरचना निर्माण भइरहेको छ । राप्तीसोनारीको फत्तेपुरसम्मको २४ किलोमिटर क्षेत्रमा गत असारमा ७ क्युमेक्स पानी सन्चालन गरिएको थियो ।
यस क्षेत्रको भूभाग अग्लो होचो भएकाले प्राविधिक रुपले नहरको सतह मिलाउनुपर्ने हुन्छ । यसरी यहाँकै स्थानीयले सोझै खेतमा नहरको पानी लगाउन सक्ने अवस्था नहुन सक्छ । यस्तो अवस्थमा लिफ्ट सिंचाइ आवश्यक पर्ने भएकाले यसलाई योजनामा समावेश गरिदिने उनले प्रतिवद्धता जनाए । प्राविधिक हिसाबले मिलेसम्म जंगलबाट नहर बनाउने गरि सर्वे सुरु गरिने उनको भनाई छ ।

मंगलबार गाँउपालिकामा प्रदेश सभा सदस्य केसी, गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, सिक्टा सिंचाई आयोजनाका निर्देशक डा. कैनी, डिजि रणधिर झा, सिक्टा सिंचाई आयोजनाको उपोभोक्ता समितिको अध्यक्ष शालिकराम डाँगी, स्थानीय किसान, वडाध्यक्षहरु, वडा सदस्य लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको छलफलबाट सर्वेक्षणको कार्य अगाडि बढाउनका लागि सहमति भएको डा. कैनीले बताए ।
यसवर्ष किसानहरुले सिंचाई सुविधा नहुँदा धानबालि नष्ट भएपछि ठुलो क्षति बेहोर्नुपरेको छ । यस कारण पनि यहाँका किसानहरुलाई नहरको पानीको आवश्यक्ता देखिएको डिजि रणधिर झाले बताए । यस क्षेत्रमा जमीनमूनीको पानीको सतह घट्दै गएकाले बोरिङबाट पनि पानी कम आउन थालेको स्थानीयले बताएका छन् ।
नरैनापुर सुख्खा क्षेत्र घोषणा भइसकेको अवस्थामा सिंचाईको आवश्यक्ता देखिएकाले नहर निर्माण गर्नका लागि सहजीकण गरिदिन प्रदेश सभा सदस्य केसीले गाँउपालिकाका अध्यक्ष शाहसंग आग्रह गरिन् । गाँउपालिकाका अध्यक्ष शाहले अघिल्लो कार्यकालमा आफू विरामी परेका कारण स्थानीयसंग सहजीकरण गर्न नसेको बताउदै यसपटक सहजीकरण गर्ने प्रतिवद्धता जनाए । यसका साथै हरेक वडामा डिप बोरिङ सन्चालन गर्ने योजना रहेको उनले बताएका छन् ।