महेन्द्र पुस्तकालयले भदौ ३ गते अमृत महोत्सव मनाउदैँ

नेपालगन्ज, साउन ३० : महेन्द्र पुस्तकालय नेपालगन्जले ७५ औँ वर्ष पुरा गरेको अवसरमा आगामी भदौ ३ गते अमृत महोत्सवको आयोजना गरेको छ । सोमबार कार्यालयमा पत्रकार भेटघाटको आयोजना गरि महोत्सवको बारेमा जानकारी गराइएको हो ।

पुस्तकालयको अमृत वर्षको ऐतिहासिकतालाई स्मरणिय राख्नका लागि महोत्सव गर्ने निर्णय गरिएको पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष बलराम यादवले जानकारी दिए । कार्यक्रम पुस्तकालयमा भदौ ३ गते विहान साढे १० बजे आयोजना गरिएको छ ।

महोत्सवमा पुस्तकालयको स्थापनाकालदेखि २०५४ सालको कार्यसमिति सम्म विभिन्न भूमीकामा रहेर सहयोग पु¥याएका सदस्य तथा कर्मचारीहरुलाई ‘अमृत महोत्सव पदक’ले सम्मानीत गर्ने निर्णय भएको छ । साथै गत साउन २१ गते विभिन्न माध्यामिक विद्यालयमा सम्पन्न ‘विद्यार्थी जीवनमा पुस्तकालयको महत्व’ शिर्षकको निवन्ध प्रतियोताका विजेताहरुलाई पुरस्कार वितरण गरिने र बहुभाषिक कवि गोष्ठिको पनि आयोजना गरिएको उनले बताए ।

विस २००३ सालमा स्थापना भएको पुस्तकालयले विभिन्न उतारचडाव पार गर्दै २०५३ सालसम्म क्रियाशिल रहेको थियो । २०५४ सालदेखि प्रत्येक २ वर्षमा हुने निर्वाचन नहुँदा तत्कालिन कार्यसमितिका अध्यक्ष कन्हैयालाल टण्डनको एकल निर्णयमा पुस्तकालय सन्चालन भयो । त्यसयता समितिको निष्कृयताले पुस्तकालयको अवस्था दयनिय बन्यो ।

२०७६ सालदेखि पुस्तकालय बन्द अवस्थामा रहेको थियो । पुस्तकालयको रेखदेख गरिरहनुभएका पुस्तकाध्यक्ष सचिदानन्द चौबेले अस्वस्थ भएको कारण देखाउदैँ राजीनामा दिएपछि पुस्तकालय बन्द रह्यो । पुस्तकालय बन्द भएको विषयमा पत्रकारहरुले पटकपटक आवाज उठाएपछि शिक्षा मन्त्रालयको पुस्तकालय निर्देशिका अनुसार गठन भएको जिल्ला पुस्तकालय व्यवस्थापन समितिका अध्यक्षको हस्तक्षेपबाट आजीवन सदस्यहरुको भेला बस्यो । भेलाले आजीवन सदस्यबाट अध्यक्ष यादवसहित १२ जना तदर्थ समिति गठन गरि २०७८ चैत्र २९ गते महेन्द्र पुस्तकालय तदर्थ गठन गरेको हो ।

तदर्थ समितिले पुस्तकालयलाई ब्यवस्थीत गर्दै समयानुकल विधान परिमार्जन गरी नयाँ कार्यसमिति गठन गर्ने जिम्मेवारी दिइएको थियो । समितिले पुस्तकालयको सरसफाई देखि, कर्मचारी व्यवस्थापन, पुस्तक व्यवस्थापनको काम गरिरहेको छ । यसै समयमा पुस्तकालय ७५ वर्ष पुरा भएकोले अमृत महोत्सव मनाउन लागिएको हो ।

हालको कार्यसमितिले २०३४ सालको विधान संशोधित परिमार्जन गरि जिल्ला पुस्तकालय व्यवस्थापन समितिबाट प्रमाणित समेत गराइसकेको छ । आजीवन सदस्यहरुको भेलाले दिएको मेन्डेट अनुसार आगामी भदौ २८ गते नयाँ कार्यसमितिका लागि निर्वाचन सम्पन्न गर्ने निर्णय पनि गरिसकेको समितिका सदस्य सनत रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया