अघि बढ्न खोज्दै कादर अलि

निशु जाेशी

राप्तीसाेनारी, साउन: विश्वकै होचा व्यक्तिका रुपमा रहेका दांङ्ग नेपालका स्वर्गीय चन्द्रबहादुर डांगी जस्तै हाम्रो समाजमा धेरै व्यक्तिहरु छन् । जसले शाररिक उचाई कम भएका कारण सामाजीक, मानशिक, मनोबैज्ञानीक रुपमा धेरै समस्या झेलिरहेका छन् । बाँकेको राप्ती सोनारी गाँउपालिकाका वडा नं ७ फरैदाका कादर अली गद्दीको अवस्था पनि यस्तै छ । गद्दीको शाररिक उचाई करिब २ फुट मात्र रहेको छ । उनी हाल राप्ती सोनारी ७ फत्तेपुरस्थित नक्कौपुरमा रहेको अमरज्योति माविमा अध्ययनरत छ ।

आर्थिक अवस्था कमजोर हुनुका साथै शारिरिक अवस्था कमजोर भएका कारण उनले समाजबाट पनि अनेकौ समस्या झेलिरहेका छन् । यसका बाफजुत उनी अध्ययन गर्ने प्रयासमा छन् । उनी यसैवर्षको एसइइ परिक्षामा पास हुन सफल भएका छन् । उनको पढाई मध्यम खालको रहेको उनी अध्ययनरत अमरज्योति माध्यामिक विद्यालयका प्रधानाध्यापक मनोज पाण्डे बताउछन् । तर शाररिक उचाईका कारण उनले पढाईमा राम्ररी ध्यान दिन सकेका छैनन् । उनी अहिले २२ वर्षको भइसकेका छन् । यो उमेरमा एसइइ उतिर्ण गर्नु उनको बाध्यता थियो । उनका बुबाआमा खेति किसानी गर्छन् । थोरै जमिन भएकाले खान लगाउन समस्या छ ।

यसकारण पढाई राम्रो भएपनि गद्दीका भाई कमाउनका लागि भारत पसेका छन् । दिदिको विवाह भइसकेको छ । अझै पढ्ने चाहाना भएपनि आर्थिक समस्या रहेको गद्दी बताउछन् । यसका लागि स्थानीय सरकार वा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाले छात्रवृतिको व्यवस्था गर्न सके गद्दीको पढाईलाई निरन्तरता मिल्ने राप्ती सोनारी २ अगैयाका समाजसेवी तिर्थराज डाँगीको अपेक्षा छ । उच्च शिक्षा हासील गरेपछि गद्दी आफ्नो खुट्टामा आफै उभिन सक्षम हुन् भन्ने चाहाना रहेको डाँगीको भनाई छ । काम विशेषले फत्तेपुर गएको बेला गद्दीलाई भेटेपछी चासोको विषयमा आफुले हेरेको डाँगी बताउँछन् ।

उनले उच्च शिक्षाका लागी गद्दीलाई सहयोग गर्न व्यक्ति संघ संस्था, सरकारी निकायलाई आग्रह समेत गरेका छन् । खेति किसानी गरेरै छोरालाई पढाउने प्रयास गरिरहेको गद्दीकी आमा सितावा गद्दी बताउछिन् । गाँउमै रोजगारी भएको भए छोराछोरीलाई पढाई लेखाईमा मदत पुग्ने उनको भनाई छ । देशमा लोकतन्त्र आयो । गणतन्त्र आयो । तर जनताका दुःखमा कुनै परिवर्तन आएन । न त उनीहरुलाई रोजगारी छ । न त पेटभरी खाने अन्न । वर्षभरी उत्पादन गरेको अन्नले वर्षभरी परिवारलाई पाल्न पुग्दैन । यससंगै शारिरीक रुपमा उचाई कम भएका, अपांगता भएका व्यक्तिहरुका लागि सरकारले परिचयपत्र वितरण गरेर उनीहरुका लागि विभिन्न शौलियतका योजना सन्चालन गर्ने गरेको छ । तर गद्दी परिवारलाई यसबारे जानकारी नै छैन ।

विद्यालयका शिक्षक लगायतका वुद्धिजिविहरुले गद्दी परिवारलाई अपांगता परिचयपत्र बनाउनका लागि अनुरोध गरेका थिए । यसबारे जानकारी नहुँदा र अशिक्षित भएका कारण परिवारले अहिलेसम्म परिचयपत्र बनाउन सकेको छैन । यसकारण गद्दी आफूले सरकारबाट पाउनुपर्ने सुविधा लिनबाट बन्चित भएका छन् । निर्वाचनको समयमा विभिन्न राजनीतिक दलहरुले स्थानीय सरकारको बागडोर सम्हाल्न पाएमा जनताको घरघरमै पुगेर सेवा दिने, स्थानीयको सहजताका लागि घरदैलो सेवाका विभिन्न योजना बनाएका थिए । तर यहाँका स्थानीय सरकारलाई यसबारे जानकारी नै छैन । यस्ता व्यक्तिहरुलाई सरकारले दिएको सुविधाबाट बन्चित गराइनु पनि यस क्षेत्रमा रहेका सरोकारवालाहरुको कमजोरी देखिन्छ ।

हाम्रो जस्तो देशमा अपांगता भएका व्यक्तिहरुलाई गर्ने व्यवहार अझै अपांगमैत्री छैन । न त अपांगमैत्री संरचना निर्माण भएका छन् । यस्ता व्यक्तिहरुले पनि अवसर पाएमा जस्तोसुकै सफलता हात पार्न सक्छन् भन्ने उदाहरण हामी कहाँ थुप्रै छन् । अवसर पाएर नै झमककुमारी घिमिरे, चन्द्रबहादुर डांगी लगायतले विश्वलाई नै आफ्नो क्षमताले चकित पारेर देखाइसकेका छन् । त्यसैले यस्ता व्यक्तिको अधिकार र संरक्षणका लागि यहाँको स्थानीय सरकारले पनि चासो दिनुपर्ने समाजसेवी तिर्थराज डाँगीको भनाइ रहेको छ ।

प्रतिक्रिया