मोहर्रम पर्वमा नेपालगन्ज यस्तो देखियो (फोटो)

मोहर्रम पर्वको अवसरमा नेपालगन्जका गल्ली, सडक र चोक ताजियाले सजियका छन् । मोहर्रमको दशौँ दिनको अवसरमा इस्लाम धर्मावलम्बीले आफ्नो घर, चोक र गल्लीमा राखेका ताजिया नजिकैको कर्बलामा लगेर विसर्जन गर्ने भएका छन् ।
मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बाँकेमा पाँच करोड रुपैँया बढीको करिब एक हजार ताजिया राखिएको अनुमान गरिएको छ । मुस्लिम समुदायले घर–घरमा स्थापना गरेका ताजिया सामूहिकरुपमा आज फुलटेक्रामा रहेका कर्बलामा विसर्जन गर्ने कार्यक्रम रहेको मोहर्रम तथा कर्बला संरक्षण समितिका अध्यक्ष फिरोज हल्वाईले जानकारी दिए ।

नेपालगन्जमा एक लाख रुपैँयासम्मका ताजिया राखिएको बताउँदै उनले आफ्नो क्षमता र दक्षता अनुसार ताजिया राख्ने चलन रहेको उनको भनाई छ ।
मोहर्रमको विशेष दिनको अवसरमा व्रत बस्ने, गरिब गुरुवालाई खाना खुवाउने, नमाज पढ्ने र राम्रो कपडा लगाउने प्रचलन छ । इस्लामिक नयाँ वर्ष ‘हिजरी सम्वत् १४४४ को १० औं तारिखका दिन मोहर्रम मनाउने गरिन्छ । मोहर्रम हिजरी सम्वतको पहिलो महिना हो । हिजरी सम्वतको ५ तारिखदेखि सुरु हुने मोहर्रमको १० औं दिन आज विशेष महत्व रहेको छ । इराकको कर्वला शहरमा पैगम्बर मोहम्मदका नाति ईमाम हुसैनसहित परिवारका अन्य सदस्य र अन्य सहिद भएको सम्झनामा मोहर्रम मनाउने प्रचलन चलेको नेपाल मोहर्रम समिति धम्बोझीका अध्यक्ष तथा मुस्लिम अगुवा मेराज अहमद हिमालयले जानकारी बताए ।

प्रतिक्रिया