शर्मा र आचार्यलाई ‘रामेश्वर कमलादेवि’ स्मृति पुरस्कार

नेपालगन्ज, साउन २४ : तिमिल्सेना वाङमय प्रतिष्ठानले ‘रामेश्वर कमलादेवि’ स्मृति पुरस्कारबाट २ जनालाई सम्मानसंगै पुरस्कृत गरेको छ । शिक्षा र साहित्यको क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याए वापत प्रा. डा. गोपाल शर्मा र किरण आचार्यलाई पुरस्कार प्रदान गरिएको हो ।

प्रतिष्ठानले २०७२ सालदेखि शिक्षा र साहित्य क्षेत्रमा क्रियाशिल रहेर महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएका व्यक्तिहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको हो । कोरोनाका कारण विगत २ वर्ष पुरस्कार वितरण गर्न नपाएकाले मंगलबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरि २०७७ सालको पुरस्कार आचार्यलाई र २०७८ सालको पुरस्कार शर्मालाई प्रदान गरीएको प्रतिष्ठानका अध्यक्ष मिना बरालले बताइन् । पुरस्कार राशि ५ हजार १ सय ११ रुपैँया रहेको छ ।

यो पुरस्कार २०७२ सालमा उर्दु गजलकार अब्दुल लतिफ शौखलाई प्रदान गरिएको थियो । स्थापनाकालमा पुरस्कार राशि १ हजार १ सय ११ रुपैँया रहेको थियो ।

वुवा आमाको सम्झनामा २०७१ सालमा १ लाख ८ हजारको अक्षयकोष स्थापना गरि हरेक वर्ष पुरस्कार वितरण गर्दै आएको प्रतिष्ठानका संरक्षक हरी तिमिल्सेनाले जानकारी दिए । परिवारको सहयोग पाइएकाले पुरस्कार राशि बढाउन लागिएको समेत उनले बताए ।

मंगलबार नेपालगन्जमा आयोजित पुरस्कार वितरण, कृति समिक्षा तथा रचनावाचन कार्यक्रममा यस क्षेत्रका साहित्यकारहरुले रचनावाचन पनि गरेका थिए । प्रतिष्ठानका अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार सनत रेग्मी, उर्दु गजलकार अब्दुल लतिफ शौख, साहित्यकार रिचा लुइटेल, कथाकार सुमित्रा न्यौपाने, इन्द्र भण्डारी इन्द्रेणी, चरित्रा शाह, कल्पना पौडेल जिज्ञासु, विक्रम शिशिर, समिक्षक लेक प्याकुरेल लगायतको सहभागिता रहेको कार्यक्रममा रचनावाचन पनि गरिएको थियो ।

प्रतिक्रिया