राप्ती सोनारी ५ का ३८ जनामा मोतिबिन्दु

राप्ती सोनारी, साउन २४ : बाँकेको राप्ती सोनारी गाँउपालिका वडा नं ५ का ३८ जनामा मोतिविन्दुको समस्या देखिएको छ । आइएमइ लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड र नेपालगन्ज आँखा अस्पतालको संयुक्त आयोजनामा मंगलबार भएको आँखा शिविरमा ३८ जनामा मोतिविन्दुको समस्या देखिएको हो ।

चिलरियामा भएको शिविरमा १ सय ८० जनाको निःशुल्क आँखा जाँच गरिएको कम्पनीका एरिया ब्रान्च मेनेजर अमित केसीले जानकारी दिए । जसमा ३८ जनामा मोतिविन्दु देखिएको हो । यस्तै आँखामा मासु पलाएको, रातो भएको लगायतको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुको भनाई छ ।

शिविरमा नेपालगन्ज आँखा अस्पतालका कार्यकारी निर्देशक बद्रि प्रसाद श्रेष्ठ, अस्पतालमा कार्यरत ओए सुस्मीता विसि, ओए श्रुति सुवेदि र भरत घलेले उपचार सेवा दिएका थिए ।

आँखामा समस्या देखिएका यहाँका विरामीलाई नेपालगन्ज आँखा अस्पतालले ५० प्रतिशत छुट दिने भएको छ । समस्या हेरेर मोतिविन्दुको अप्रेसन गर्न ५ हजारदेखि २० हजारसम्म खर्च लाग्ने गरेको छ । शिविरमा आएका विरामीले पर्चा लिएर आएमा अस्पतालले ५० प्रतिशत उपचारमा छुट दिने नेपालगन्ज आँखा अस्पतालका कार्यकारी निर्देशक बद्रि प्रसाद श्रेष्ठले जानकारी दिए । आर्थिक अभावका कारण उपचार गराउन नसक्ने अवस्था देखिएकाले शिविरमा आएका यस क्षेत्रका नागरिकका लागि ५० प्रतिशत छुट दिने श्रेष्ठले बताए ।

आइएमइ लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले आगामी भदौ १ गते ५ औँ वार्षिकोत्सव मनाउदै छ । वार्षिकोत्सवका अवसरमा नेपालगन्ज आँखा अस्पतालसंगको समन्वयमा नेपालगन्ज र राप्ती सोनारी शाखाले शिविर सन्चालन गरेको हो । जीवन विमाको क्षेत्रमा क्रियाशिल कम्पनीले सामाजीक क्षेत्रमा समेत काम गर्दै आएको जनाएको छ । यस अघि यहि श्रावण २० गते नेपालगन्जमा रक्तदान कार्यक्रम पनि गरिएको थियो ।

शिविरमा कम्पनीका राप्ती सोनारी ब्रान्च मेनेजर मोतिराम थारु, सिनियर एजेन्सी मेनेजर लक्ष्मी जैशी, एजेन्सी मेनेजर रामसागर थारु, खजुरा ब्रान्च मेनेजर सुर्य बहादुरी अधिकारी लगायत स्थानीय जनप्रतिनिधिहरुको सहभागिता थियो ।

गाँउमै निःशुल्क आँखा जाँच गर्न पाएकोमा स्थानीयले खुशि व्यक्त गरेका छन् ।

प्रतिक्रिया