साउन: बाँकेको राप्ती सोनारी गाँउपालिका भित्रका ४ वटा माध्यामिक विद्यालयको छड्के अनुगमन गरिएको छ । गाँउपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल, गाँउपालिकाका शिक्षा शाखा प्रमुख जीवन न्यौपाने, पवन शाह, माधव डांगी लगायतको टोलिले विहिबार संयुक्त रुपमा छड्के अनुगमन गरेको हो । अनुगमनका क्रममा ४ वटै विद्यालयमा भर्ना भएका सबै विद्यार्थी उपस्थीत नहुने गरेको पाइएको छ ।
करिब २० देखि ४५ प्रतिशत सम्म विद्यार्थीहरु अनुपस्थित रहेको पाइएको गाँउपालिकाका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले बताए । केहि विद्यालयमा प्रधानाध्यापक नै अनुपस्थित भएको, विद्यालयलाई जानकारी नै नगराएर शिक्षक उपस्थीत नभएको, परम्परागत तरिकाबाट पठनपाठन भइरहेको, विद्यालय पोषाक नलगाएको, समय अगावै पठनपाठन बन्द गरिएको लगायतका समस्या पनि देखिएको उनले बताए ।
अनुगमनका क्रममा भेटिएका समस्या समाधान गर्न पहिलो पटकका लागि गाँउपालिकाका अध्यक्ष पौडेलले विद्यालयलाई निर्देशन दिएका छन् । आगामी दिनमा यी समस्या दोहोरीए कारवाही प्रक्रिया अगाडि बढाउने उनको चेतावनी छ । विद्यालयलाई जानकारी नै नदिई विदामा बसेका शिक्षकको तलब काट्न समेत उनले निर्देशन दिए ।
कुन कुन विद्यालयको अवस्था कस्तो ?
गाँउपालिकाको वडा नम्बरमा ५ मा रहेको भुवर भवानी मा.वि. मा स्थलगत अनुगमन तथा निरिक्षणका क्रममा ४ जना शिक्षक अनुपस्थीत रहेको पाइएको छ । शिक्षकहरु विद्यालय पोषाकमा नभएको, शिक्षण सिकाई क्रियाकलाप भन्दा पाठ्यपुस्तकमा बढी निर्भर रहेको, कक्षा कोठामा अनावश्यक मोबाइलको प्रयोग गरेको, कक्षाकोठा व्यवस्थापनमा ध्यान नदिएको पाइएको छ । वडा नं ६ मा रहेका सरस्वती मा.वि. पनेरिया र सिद्धेश्वर मावि सिधनवाको पनि अनुगमन तथा स्थलगत निरिक्षण गरीएको छ ।
अनुगमनका क्रममा सरस्वती मा.वि. का प्रध्यानाध्यापक सहित ६ जना शिक्षक अनुपस्थित रहेको पाइएको छ । यस्तै शिक्षक, कर्मचारीहरुले विद्यालय पोषाक नलगाएको र सबै विद्यार्थी विद्यालय नआएको पाइएको छ । सिद्धेश्वर मा.वि. मा पनि प्रध्यानाध्यापक सहित २ जना अनुपस्थित रहेको भेटिएको छ । भर्ना भएका मध्ये २० प्रतिशत बालबालिका अनुपस्थित भएको, शिक्षण सिकाई क्रियाकलाप परम्परागत तरिकाले भइरहेको, शिक्षक, कर्मचारी र विद्यार्थीहरुले तोकिएको विद्यालय पोषाक नलगाएको भेटिएको छ ।
वडा ७ को अमरज्योति मा.वि.मा दिउँसो साढे ३ बजे नै विद्यालयको पठनपाठन बन्द भएको पाइएको छ । यस्तै, यहाँपनि एक जना शिक्षक अनुपस्थित भएको, भर्ना भएका मध्ये ५३ प्रतिशत विद्यार्थी मात्र उपस्थीत भएको, विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक अभिलेख व्यवस्थीत नभएको लगायतका समस्या देखिएको छ । यसअघि पनि गाँउपालिकाले वडा नं १ मा रहेका विद्यालयको अनुगमन गरेको थियो ।