
निशु जाेशी, १६ साउन : बाँकेको राप्ती सोनारी गाँउपालिकामा निर्माणाधिन पेपर मिल आगामी मंसीर मसान्तसम्म सन्चालनमा ल्याइने भएको छ । स्वदेशबाट भइरहेको पेपर आयात घटाउन, स्वदेशमा खेर जाने प्लाष्टिक, लत्ताकपडा, कागज, पत्रपत्रिका लगायतका कच्चा पदार्थको पुनः प्रयोग गरि ए फोर साइजको पेपर, सिमेन्ट राख्ने बोरा लगायतका सामाग्रीहरु उत्पादन गर्ने लक्ष्यका साथ मिल सन्चालनमा आउन लागेको हो । आफै श्रमिक, आफै मालिक–उत्पादन हाम्रै नेपालको” मूल नाराका साथ एक्सिलेण्ट पेपर रिसाईकल कन्सर्न प्रा. लिले मिल सन्चालन गर्न लागेको प्रालिका अध्यक्ष ज्योतीलाल भण्डारीले जानकारी दिए ।
राप्ती सोनारी गाँउपालिका वडा नं २ को महेन्द्रपुरमा करिब ५ विघा जमिनमा हाल नाला निर्माण, कल्भर्ट, कम्पाउण्ड पर्खाल, पोखरी निर्माण लगायतका काम सम्पन्न भइसकेको छ । उद्योगलाई आवश्यक पर्ने फोर्डिनर रोटरी स्क्रिन मेसीन भारतको अहम्दाबादबाट र पल्पको डाइजेष्टर मेसीन चिनबाट ल्याउन लागिएको छ । बैंकिङ कारोबारमा समस्या नआए आगामी मंसिर मसान्तसम्ममा मिल सन्चालनमा ल्याउने उनले बताए । ४ वर्ष अघिबाट सुरु भएको परियोजना सन्चालनमा कोरोनाका कारण ढिलाई भएको हो । तिन सय पचास करोड लागत लाग्ने अनुमान गरिएको उद्योगमा हालसम्म करिब सात करोड खर्च भइसकेको छ ।
हालसम्म संस्थापक शेयर बिक्री वापतको रकमबाट जग्गाखरीद, वातावरणीय प्रभाव मुल्यांकन (आइ.ई.ई.) माटो–जमिन परिक्षण, पानी परिक्षण, डि.पि.आर, बाटो, पानी पोखरी निर्माण, माटोपटान लगायतमा गरि २०७९ असार मसान्तसम्म लगभग सात करोड पन्ध्र लाख आठ हजार अठ्ठाईस रुपैँया खर्च भइसकेको छ । हालसम्म रिसाईकल परियोजनाको डि.पि.सि. सम्मको काम लगभग पुरा भैसकेको छ । उद्योग सन्चालनका लागि बाँके, बर्दिया, दांग लगायतका जिल्लामा सम्भाव्यता अध्ययन गरिएको थियो ।
अध्ययनका क्रममा माटोको परिक्षण गर्दा उद्योग सन्चालनको सम्भावना देखियो । नजिकै राप्ती नदि भएकाले उद्योगलाई आवश्यक पर्ने पानीका लागि पनि सहज देखियो । उद्योगले वातावरणमा समेत असर नपर्ने वातावरणीय प्रभाव मुल्यांकनले समेत निष्कर्स निकालेपछि राप्ती सोनारी क्षेत्रलाई छनौट गरिएको भण्डारी बताउछन् । गत जेठमा मात्रै सम्भाव्यता अध्ययन सम्पन्न भएको हो ।
१ हजार बढीलाई रोजगारी
सदियौँ देखि गरिवी, वेरोजगारी, परम्परागत कृषि प्रणाली, चरम व्यापार घाटा बोक्दै हिँडेको नेपाली समाजलाई उद्योग सन्चालन आएमा ठुलो राहत मिल्ने छ । यस क्षेत्रका करिब ३ सय जनाले प्रत्यक्ष र १ हजार बढीले अप्रत्यक्ष रुपमा रोजगारी पाउने छन् । ‘देशमा विभिन्न व्यवसायिक अवसरहरुको प्रशस्त सम्भावना हुँदाहुँदै पनि औद्योगिकीकरणका लागि सकारात्मक वातावरण सिर्जना हुन नसकिरहेको अवस्था छ ।
अर्कातिर व्यापार घाटा वर्षेनी बढ्दो क्रममा छ’ अध्यक्ष भण्डारीले भने– ‘स्थानीय स्तर तथा स्वदेशमा काम नलाग्ने वस्तु तर व्यवसाय सञ्चालन गरी स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने सम्भावनालाई मद्यनजर गर्दै देश भित्रकै गौरवमय व्यवसायिक परियोजना स्थापना गर्न लागिएको हो ।’ सन्सारका सबैभन्दा धनीको सूचिमा पर्ने भारतका अम्बानी परिवारको विषयमा पुस्तकमा पढेपछि काम गर्न प्रेरणा मिलेको उनी बताउछन् । पैसालाई व्यवस्थापन र उपयोग गर्न जाने मात्र सफल हुने भएकाले उनीहरुको विजनेस मोडेललाई आफूले पछ्याएको उनी बताउछन् ।
खेर जाने वस्तुको उपयोग हुने
पल्प तथा पेपर उत्पादन मध्ये पहिलो चरणको पेपर रिसाईकल उद्योग स्थापना गरी दैनिक ३० टन रिसाईकल पेपर उत्पादन गर्ने लक्ष्य छ । यहाँबाट कुनैपनि कच्चापदार्थ खेर नजाने कम्पनीको दाबि छ । स्थानीयस्तरमा उत्सर्जन हुने पेपर, प्याकेजिङ्ग उद्योगबाट र छापाखानाबाट निस्कने पेपरका झुरा, पुराना पत्रपत्रिका, पुराना किताव, पुराना कापी, पुराना कपडा, प्लाष्टिकका झोला तथा काम नलाग्ने वस्तुहरु अहिले त्यतिकै खेर गइरहेका छन् ।
नेपालमा प्रशस्त मात्रामा पाईने बाबियो, पराल, गहुुँको नल, अम्रिसो, बाँस, ऊँखुको छोक्रा लगायत फाईवरयुक्त पदार्थ प्रशोधित गरि एग्रेशिभ पल्प र नेपालमै उत्पादन गर्न सकिने फाईवरयुक्त काठलाई प्रशोधित गरी प्रोग्रेशिभ पल्प बनाई दैनिक ३०० मेट्रिक टन पल्प उत्पादन हुने छ । पल्पबाट विभिन्न साईजका पेपर उत्पादन हुन्छ । बाँके मात्रै नभइ नेपाल भरीबाट खेर जाने तथा प्रयोग विहिन कच्चा पदार्थको पुर्णतयाः सदुपयोग गर्ने कम्पनीले जनाएको छ ।
उद्योग सन्चालनमा आएपश्चिात डाईजेष्टिरको माध्यम प्रयोग गरी फोर्डिनियर मेसिन, रोटरी स्क्रीन मेसीनबाट रिसाईकल गरिने छ । जसबाट ए फोर साइजको पेपर, कटन मिक्स स्याकपेपर, बोर्डपेपर, डुप्लेक्सपेपर, तथा अन्य व्यवसायीक पेपर उत्पादन गरिने छ । यसले ती खेर गएका पदार्थको न्यूनिकरण हुने अपेक्षा छ ।
कम्पनीको शेयर विक्रि सुरु
२०७६ जेठ १७ गते आधिकारिक रुपमा दर्ता भएको यस परियोजनाले पहिलो चरणको शेयर विक्रि सुरु गरेको छ । शेयर विक्रि भए पश्चात प्रा. लि. बाट पेपर मिल कम्पनी लिमिटेडमा परिवर्तन गरिने छ । प्रा. लि. ले छरिएर रहेको पुँजी संकलन गरी वृहत रुपमा “आफै श्रमिक आफै मालिक, उत्पादन हाम्रै नेपालको” भन्ने मूल नारालाई कार्यान्वयन गर्नका लागि शेयर खुला गरिएको हो । जो सुकैले पनि शेयरमा लगानी लगाउन सक्नेछन् ।
उद्योगमा काम गर्नका लागि पनि शेयरमा लगानी गर्नुपर्ने छ । यसरी सर्वसाधारण पनि उद्योगको नेतृत्व तहसम्म पुग्न सक्ने जनाइएको छ । पहिलो चरणमा रिसाईकल परियोजनाको संस्थापन शेयर १ सय जनालाई छब्बिस लाख कित्ता शेयर बिक्रि गरी छब्विस करोड रुपैँया पुँजी व्यवस्थापन गने लक्ष्य छ । सो पश्चात कम्पनी पब्लिकमा लैजाने तयारी छ । उद्योग पश्चात कम्पनीलाई वृहत रुपमा लैजान शेयर बिक्री गर्दै लगिने छ । भविष्यमा नेपाल सरकारको कानुन बमोजिम शेयर सुचिकृत गर्दै आइपिओ निष्कासन गर्ने गरी काम अगाडी बढाउने कम्पनिको लक्ष्य रहेको छ ।
यस्तो नेपालमै उत्पादन गरी आयातलाई प्रतिस्पर्धा गर्न सक्ने उद्योगमा लगानी गर्न सबैलाई आह्वान गरिएको छ । कम्पनिको नियमावलि अनुसार संस्थापक, सस्थापन र साधारण गरी ३ प्रकारले शेयरको विभाजन गरिएको छ । संस्थापक शेयर सदस्यको मुल समिति रहने व्यवस्था गरिएको छ । पहिलो चरणमा संस्थापन शेयर रु. १०० का दरले छब्विस लाखसम्मको मात्र किन्न सकिने छ । साधारण शेयर रु.१०० को दरले एक लाख मात्र रहने व्यवस्था गरिएको छ । आफै श्रमिक आफै मालिक भन्ने मुल नाराका साथ चलिरहेको कम्पनिमा कर्मचारीलाई पनि साधारण शेयरमा जोड्दै लैजाने लक्ष्य रहेको छ ।
कम्पनि संचालन र व्यवस्थापन कम्पनिको जारी निर्देशिका बमोजिम गरिने छ । पब्लिक साझेदारिमा आधारित व्यवसायिक उद्योगको सञ्चालन तथा व्यवस्थापन गर्दै देशकै गौरवको उद्योग स्थापना गर्ने, दिगोस्रोत व्यवस्थापन सहितको रणनैतिक योजना तथा कार्यान्वयन गर्ने, मुल्यशृङ्खलामा आधारित व्यवसाय स्थापनामा टेवा पुर्याउने, सरकारले लिएको गरिवी न्युनिकरणको उद्देश्यमा महत्वपुर्ण साझेदारी गर्ने, नेपाल सरकारले लक्षित वर्गहरुको गरिवी न्युनिकरणका लागि लिएको उद्देश्यप्राप्तिका लागि महत्वपुर्ण साझेदारी गर्ने लक्ष्यकासाथ परियोजना अगाडी बढाईएको हो ।