बुटवल, साउन : कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगत रहेको कृषि विकास निर्देशनालयको पछिल्लो चौमासिक प्रगति ७६ प्रतिशत बढि रहेको पाइएको छ । गत आर्थिक बर्षको तेस्रो चौमासिकमा ७६.४८ प्रतिशत भारित प्रगति हासिल गर्न सफल भएको यस्तै सोही अविधीमा ६४.४७ प्रतिशत वित्तीय प्रगती प्राप्त गर्न सफल भएको निर्देशनालयका निमित्त प्रमुख राम प्रसाद पाण्डेले जानकारी दिए ।
मन्त्रालले बुटवलमा कार्यालय र मातहतका निकायका विचमा गरेको बार्षिक समिक्षा गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै निमित्त प्रमुख पाण्डेले बार्षिक रुपमा भने निर्देशनालयको भारित प्रगति ६७.०२ प्रतिशत रहेको बताए । यस्तै एक बर्षमा निर्देशनालयबाट ५४.७२ प्रतिशत वित्तीय प्रगति गरेको छ ।
कृषि ज्ञान केन्द्रहरुमा प्रदेशका ९ वटा रहेकोमा सबैभन्दा बढि गुल्मी जिल्लाले वित्तीय प्रगति ७६.४० गर्दै ८५.९९ प्रतिशत भारत प्रगति हासिल गर्न सफल भएको छ । यस्तै रुपन्देही जिल्ला कृषि विकास कार्यालयले ४३.३२ प्रतिशत वित्तीय र ६१.८५ प्रतिशत भारित, नवलपरासीले ५७.२६ प्रतिशत वित्तीय र ६६.९६ प्रतिशत भारित प्रगति प्राप्त गर्न सफल भएको हो ।
बार्षिक रुपमा पाल्पाले ४६.२६ प्रतिशत वित्तीय खर्च गरी कुल ७५.५९ प्रतिशत भारित प्रगति प्राप्त गर्नसफल भएको छ ।
यस्तै कपिलवस्तुले ४६.९१ प्रतिशत वित्तीय र ६१.९२ प्रतिशत भारित प्रगति प्राप्त गर्न सकेको हो । अर्घाखाँची कृषि ज्ञान केन्द्रले ५२.२८ प्रतिशत वित्तीय र ६७.१ प्रतिशत भारित प्रगति प्राप्त गरेको छ भने दाङले ५६.२४ वित्तीय र ६३ प्रतिशत भारित प्रगति प्राप्त गरेको हो ।
बाँके जिल्ला कृषि ज्ञान केन्द्रले ५०.०१ प्रतिशत वित्तीय खर्च गरी ७१.१५ प्रतिशत भारित प्रगती प्राप्त गर्दा रोल्पा जिल्ला भने कमजोर देखिएको छ । जिल्लाले जम्मा ३५.४३ प्रतिशत वित्तीय प्रगति गरेको भने ६३.२५ प्रतिशत मात्रै भारित प्रगति हासिल गरेको हो । कृषि ज्ञान केन्द्र बाँके र दाङ ले शुन्य बेरुजु बनाउन सफल भएका छन् ।
बुटवलमा आयोजना गरिएको बार्षिक प्रगति समिक्षा गोष्ठीमा निर्देशनालय मातहतका कृषि ज्ञान केन्द्र, प्रयोगशाला, व्यवसाय प्रर्वद्धन कार्यालय, एकिकृत कृषि तथा पशु विकास कार्यालयहरुको प्रस्तुती रहेको थियो । कार्यक्रममा बोल्दै कृषि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव याम नारायण देवकोटाले सबैको साथ र सहयोग बाट मात्रै कृषि मन्त्रालय सफल हुने भन्दै समयमा नै कार्य सम्पादन गर्नको लागि कर्मचारीहरुलाई निर्देशन गरेका थिए ।
पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय निमित्त प्रमुख डा. परवेज आलम, कृषि विकास निर्देशनालयका निमित्त प्रमुख राम प्रसाद पाण्डे, मन्त्रालयका खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रर्वद्धन महाशाखा प्रमुख अमरराज शर्मा घिमिरे, योजना शाखा प्रमुख हरि प्रसाद पण्डीत, मन्त्रालयका स्मार्ट कृषि गाउँ कार्यक्रम प्रमुख घनश्याम चौधरी, सूचना अधिकृत शालीकराम गौतम, निर्देशनालयका बरिष्ठ बाली विकास अधिकृत देवेश कुमार मिश्रा लगायतले आ आफ्नो भनाई राखेका थिए ।