राप्ती सोनारीमा स्वच्छ पिउने पानी पुग्दै

निशु जोशी, नेपालगन्ज : बाँकेको राप्ती सोनारीमा निर्माण भइरहेका खानेपानीका ३ वटा आयोजनाबाट पानी वितरण सुरु भएको छ । लुम्बिनी प्रदेश अन्र्तगत सरसफाई तथा खानेपानी डिभिजन कार्यालय बाँकेका ५ र बर्दियाका २ गरि ७ वटा योजनाबाट यसैवर्षदेखि पानी वितरण सुरु भएको जनाएको छ । त्यसमध्य ३ वटा आयोजना राप्तीसोनारीकै रहेका छन् ।

राप्ती सोनारी गाँउपालिका वडा नं १ को खासकुष्मा (सौरी), भवानीयापुर र भमका खानेपानी योजनाबाट उपोभोक्तालाई पानी दिने तयारी सुरु गरिएको डिभिजन प्रमुख तिलक न्यौपानेले बताए । केहि आयोजनाबाट पानी वितरण सुरु भइसकेको छ । यी आयोजनाको निर्माण यसैवर्ष सक्ने तयारी छ । योजना सम्पन्न भएमा राप्तीसोनारी संगै नरैनापुरका केहि क्षेत्रसम्म पनि खानेपानीको पहुँच पुग्ने अनुमान गरिएको छ ।

राप्ती सोनारी गाउँपालिका १ सौरीकी सरिता केसीले अहिले धाराको पानी खान पाउँदा धेरै खुशी लागेको बताइन् । कुवाको पानी प्रयोग गर्दै आएकोमा करिब ४ महिनायता साँझ बिहान धाराको पानी प्रयोग गर्दै आएको उनको भनाई छ ।

गर्मी समयमा कुवा सुक्थ्यो । त्यसवखत राप्ती नदिको पानी ल्याएर खाने गरेको उनले बताइन् । तर, अहिले घर–घरमा धाराको पानी आएपछि त्यो समस्या अन्त्य भएको छ । धाराको पानी डीप बोरिङबाट आउने भएकाले खाँदा पनि मिठो रहेको स्थानीयले बताए ।

२०७४ सालदेखि शुरु भएको खासकुश्मा खानेपानी आयोजना विभिन्न कारणले केही समय अगाडि देखि नै पानी वितरण गरिएको आयोजनाका अध्यक्ष थम्मन बहादुर भण्डारीले बताए । आयोजनामा २ वटा डीप बोरिङ रहेको र ढेड लाख लिटरको ओभरहेड टयाङ्की निर्माण गरेर ५ सय घरमा खानेपानी पु–याउने लक्ष्य छ । अहिले ३ सय भन्दा बढि घरमा २४ सै घण्टा पानी वितरण गरिरहेको उनले बताए ।

धारा जडान गर्नको लागि प्रत्येक घरधुरीबाट साढे १८ सय शुल्क लिइएको छ । मासिक शुल्क भने लिइएको छैन । पहिलो पटक स्वच्छ खानेपानीको आयोजना सञ्चालन भएपछि धेरै उपभोक्ताहरू खुशी भएका छन् । स्थानीयले कुवा, नल, ट्युबेल, राप्ती नदि लगायतबाट पानी पिउदै आएका छन् । पानी रातो आउने, मसिनो बालुवा मिसिएर आउने गरेको भएपनि यहि पानी खानुपर्ने बाध्यता छ । पानी स्वच्छ भए नभएको भन्नेबारे पानी परिक्षण पनि गरिएको छैन । यी खानेपानी आयोजना पुर्ण रुपमा सञ्चालनमा आएपछि स्थानीयलाई ठुलो राहत मिल्ने अपेक्षा छ ।

फत्तेपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लाल बहादुर थापाले २०७३ सालदेखि निर्माण शुरु भएको खानेपानी आयोजना अन्तिम चरणमा पुगेको बताए । उनले आगामी भदौ महिनादेखि गाउँमा खानेपानी वितरण गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । गाउँमा अहिले सबैले हाते पम्पबाट पानी निकालेर खाइरहेको र त्यो पनि स्वच्छ पानी नभएको उनको भनाइ छ ।

गत फागुनको महिना मै स्थानीयको घर –घरमा खानेपानी पु–याउने लक्ष्य लिएको भएपनि बैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनले गर्दा काममा ढिलाई भएको उनले बताए । यो समयमा टोल टोलमा खानेपानीको धाराका लागि पाइप बिछ्याउने काम भइरहेको छ । भदौदेखि स्वच्छ पानी वितरण गरेर खुवाउने योजना रहेकाले दु्रत गतिमा काम भइरहेको उनले बताए ।

राप्तीसोनारीका यी ३ आयोजनासंगै बाँकेका खजुरा गाँउपालिका र बैजनाथ गाँउपालिकामा निर्माणाधिन नौबस्ता आयोजनाबाट पनि यसैवर्षदेखि पानी वितरणको काम सुरु भएको छ । निर्माण सम्पन्न भइनसकेको भएपनि उपोभोक्ताको आवश्यक्तालाई मध्यनजर गरि पानी वितरण सुरु गरिएको डिभिजन प्रमुख न्यौपानेले बताए ।

यस्तै बर्दियाको मधुवन नगरपालिका ५ मा रहेको रामकृष्ण खानेपानी आयोजना र बारबर्दिया ८ मा रहेको मगरागढि खानेपानी आयोजना पनि यसैवर्षदेखि सन्चालनमा आएका छन् ।

न्यौपानेका अनुसार हाल बाँकेमा ७४ र बर्दिया जिल्लामा ५१ गरि करीब १ सय २५ वटा आयोजना निर्माणाधिन अवस्थामा छन् । बाँकेका १६ र बर्दियाका १८ वटा आयोजना सन्चालनमा छन् ।

आधा दर्जन योजना अलपत्र अवस्थामा

बाँकेमा २०६३÷०६४ सालदेखि निर्माण सुरु भएका करिब आधा दर्जन खानेपानीका योजना अलपत्र परेका छन् । आयोजना सन्चालन गर्नका लागि न्युन बजेट, प्रयाप्त जनशक्तिको अभाव, उपोभोक्ता समितिको चासो नदेखिनु लगायतका कारणले करिब डेढ दशक पहिलेदेखि निर्माण सुरु भएका आयोजनाहरु अलपत्र अवस्थामा पुगेको लुम्बिनी प्रदेश अन्र्तगत सरसफाई तथा खानेपानी डिभिजन कार्यालय बाँकेले जनाएको छ ।

२०६३÷०६४ सालदेखि निर्माण सुरु भएको नेपालगन्ज १६ जयसपुरमा रहेको खानेपानी आयोजनाको सुर्खेतरोड विस्तारका क्रममा सडकमा रहेको पाइपलाइन काटिएपछि अलपत्र परेको हो । त्यस्तै हवल्दारपुर नजिकै रहेको शम्शेरगन्ज खानेपानी आयोजना, राधापुर खानेपानी योजना लगायतका आयोजना हाल अलपत्र अवस्थामा रहेका छन् । यी आयोजना सन्चालनका लागि डिभिजन कार्यालयले प्रयास गरिरहेको प्रमुख न्यौपानेले बताए ।

कम्तीमा पनि एउटा आयोजना निर्माणका लागि २ देखि १२ करोड रुपैँयासम्म लाग्ने गरेको छ । खानेपानीको ट्यांकि निर्माणमै करिब २ करोड रुपैँया खर्च हुने उनी बताउछन् । सरकारले करोडौँ खर्च गरेर निर्माण गरेका आयोजना विचमै अलपत्र पर्दा यहाँ खर्चिएको बजेट बालुवामा पानी खन्याए जस्तै भएको उनी बताउछन् ।

यी योजना बनाउनका लागि उपभोक्ता र स्थानीय सरकारले खासै चासो नदिएको उनको दुखेसो छ । बनीरहेका योजना सम्पन्न गर्नेतर्फ भन्दा पनि लोकप्रियताका लागि योजनाहरु थप्दै जाने प्रवृति बढ्दै गएपछि यसले थप समस्या निम्तिएको उनको भनाई छ । एउटा आयोजना सम्पन्न भएपश्चात मात्र अर्को आयोजनाको सुरुवात गर्न सके आयोजनाहरु चाडो सम्पन्न हुने उनको तर्क छ ।

एउटा आयोजनाको निर्माण कार्य करिब ३ देखि ५ वर्ष भित्रमा पुरा गरिसक्नुपर्ने हो । तर डेढ दशकसम्म पनि निर्माण सम्पन्न नहुँदा पानीका ट्यांकीहरु चुहिने, पुन मर्मत गर्नुपर्ने लगायतका समस्या देखिने गरेको छ । यसका लागि स्थानीय उपभोक्तासंगै स्थानीय सरकारले पनि तदारुकता देखाउनुपर्ने उनको भनाई छ ।

कतिपय क्षेत्रमा सानो क्षेत्र ओगटेर स–साना खानेपानीका आयोजना निर्माण भइरहेको अवस्था छ । यसले एउटै क्षेत्रमा धेरै आयोजना निर्माण भएका तर पुरा नभएका देखिएकाले आयोजना निर्माण गर्दा ठुलो जनसंख्या लाभान्वित हुने गरि आयोजनाको माग गर्न उनको सुझाव छ । एउटा खानेपानी आयोजनाले कम्तीमा ४ सय देखि बढीमा २५ सय परिवार लाभान्वित हुने गरेका छन् ।

न्युन बजेट, योजना धेरै

पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशको मातहतमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले बाँके र बर्दिया जिल्ला हेर्दै आएको छ ।

कार्यालयमा सघन खानेपानी आयोजना, सरसफाइ तथा ढल व्यवस्थापन, खानेपानी आयोजना गुणस्तर सुधार तथा अभिवृद्धि कार्यक्रम, खानेपानी आयोजना मर्मत सुधार, जलवायु अनुकुलित खानेपानी आयोजना, तराइ मधेश खानेपानी आयोजना, राष्ट्रिय युवा परिचालन लगायत ८ वटा शीर्षकहरूमा बजेट आउने गरेको छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा ४४ करोड ९१ लाख २२ हजार बजेट पाएकोमा कार्यालयले ४४ करोड १ लाख ६९ हजार ६० रुपैँया खर्च गरेको छ । यो कुल बजेटको ९८.०१ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ ।

तर चालु आर्थिक वर्षमा ३३ प्रतिशतले बजेट घटेर आएको जानकारी दिदैँ उनले यसले निर्माणाधिन आयोजना सम्पन्न गर्न चुनौति थपिएको बताए । डिभिजनमा दिने बजेटमा सरकारले कटौति गर्दै लगेको छ । तर स्थानीय स्तरमा योजनाहरु थपिदै गएपनि उपलब्धी प्राप्त गर्न समस्या देखिएको उनको भनाई छ ।

सरकारको नियम अनुसार २० प्रतिशत लगानी उपभोक्ताहरूले जुटाउनु पर्ने भएकाले पनि खानेपानी निर्माणमा समस्या हुने गरेको छ । खानेपानी आयोजनाहरूमा डीप बोरिङबाट नै पानी निकाल्नु पर्ने भएकाले विद्युत समस्या हुने गरेको छ । आयोजनाको लागि सहज रुपमा विद्युतको टिओडी मिटर नपाइने उनको भनाई छ । त्यसका लागि यहाँका उपभोक्ताहरू काठमाडौँ जानुपर्ने बाध्यता छ ।

बाँके बर्दियामा ८८ प्रतिशतले स्वच्छ पानी पिउनबाट बन्चित

बाँके बर्दिया जिल्लामा ८८ प्रतिशत नागरिकहरु स्वच्छ पानी पिउनबाट बन्चित रहेको पाइएको छ । सरसफाई तथा खानेपानी कार्यालयका अनुसार हाल बाँके र बर्दियाका करिब १२ प्रतिशत नागरिकहरूले मात्र पाइप प्रणालीबाट खानेपानी खाइरहेका छन् ।

दुई जिल्लामा निर्माण हुन लागेका सबै आयोजनाहरू सम्पन्न भएमा करिब ९० प्रतिशत नागरिकहरूले पाइप प्रणालीको पानी खान पाउने कार्यालयको भनाई छ ।

प्रतिक्रिया