नेपालगन्ज, २८ असार : बाँकेमा व्यवहार परिवर्तनका लागि अभियान थालिने भएको छ । खजुरा गाउँपालिकामा जिल्ला आयुर्वेद अस्पताल र नागरिक आरोग्य केन्द खजुराको आयोजनामा अभियानको शुरुवात गरिएको हो । स्वस्थ जीवनशैलीका लागि व्यवहार परिवर्तन अनिवार्य शर्त भएको आयुर्वेद अनुसन्धान कर्ताहरुले जनाएका छन् । हामीले पछिल्लो समय खाने गरेको खानपानको बानीदेखि विचारसम्म परिवर्तन गर्न सके मात्र व्यवहार परिवर्तनले सार्थकता पाउने भन्दै खजुरामा अभियान थालनी गरिएको हो ।
आयुर्वेदका क्षेत्रहरु चिकित्सा सेवा, चिकित्सा शिक्षा, आयुर्वेद अनुसन्धान र आयुर्वेद औषधी उत्पादनलाई जोड दिँदै स्वस्थ जीवनशैली जिउने उद्देश्यले अभियानलाई पालिककाले साथ दिएको जनाएको छ । सर्ने रोग नियन्त्रणमा आए पनि नसर्ने रोग बढ्दै गएकाले खानपान, व्यवहार परिवर्तन र स्वस्थ जीवनशैलीलाई ध्यान दिने गरी अभियानको शुरुवात गरिएको जिल्ला आयुर्वेद अस्पताल बाँकेका प्रमुख वरिष्ठ आयुर्वेद चिकित्सक डा. अनिलकुमार चौधरी बताउँछन् । उनले आम मानिसलाई के खाने के नखाने लगायतका विषयमा ज्ञान दिन वडातहसम्म समितिहरु बनाइएको र अभियानमार्फत सबैमा जानकारी दिने बताए । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी मानिसको जीवन अमूल्य रहेको र संसार संचालन गर्ने पनि मानिस नै भएकाले खानपान र जीवन शैली बिग्रिँदा कर्तव्यबाट च्युत भएकाले प्रकृतिले दिएको नियममा हिड्नु पर्ने बताउँछन् ।
उनले हामीले गर्दै आएको जीवनशैली परिवर्तनका लागि आफै कटिवद्ध हुनु पर्ने बताउँदै मानसिक, शारीरिक र सामाजिक रुपमा पनि प्रकृति प्रदत्त हुँदै आफुले आफैलाई माया गर्नु पर्नेमा जोड दिए । खजुरामा रहेको नागरिक आरोग्य केन्द्रमार्फत नीति कार्यक्रम र बजेट बिनियोजन गरेर जनचेतना अभिवृद्धि गरिने खजुरा गाउँपालिकाले जनाएको छ । खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले पञ्चकर्मको स्नेह र स्वेदन कार्यक्रम संचालन गर्ने बताउँछन् । उनले नागरिक आरोग्य केन्द्रहरुमार्फत टोलटोलमा शिक्षा प्रदान गर्ने कार्यक्रम बनाएको बताए ।
पछिल्लो समय खानपान र जीवनशैलीमा आएको नकारात्मक परिवर्तनलाई सकारात्मक बनाउन हरेक व्यक्तिले आफैबाट शुरुवात गर्दै आफ्नो स्वास्थ्यको आफै जिम्मेवार बन्न सके मात्र अभियानले सार्थकता पाउने अध्यक्ष विकले जनाए । नागरिक आरोग्य केन्द्र खजुराको समन्वय र जिल्ला आयुर्वेद अस्पताल बाँकेको आयोजनामा खजुरामा भएको कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ल, वडा नं. २ का अध्यक्ष धनीराम ओली, आयुर्वेद जिल्ला अस्पताल, बाँकेका अध्यक्ष जनकराम भण्डारी, जिल्ला आयुर्वेद अस्पतालका डा. गीता रेग्मी, नागरिक आरोग्य सेवा केन्द्र खजुराका प्रमुख किरण खनाललगायतले आफैबाट स्वस्थ जीवनशैलीको शुरुवात गर्नुपर्नेमा जोड दिए ।