
खजुरा : बाँकेको खजुरा गाउँपालिकामा ४९ प्रतिशत जनता कृषिमा संलग्न रहेको तथ्य सार्वजनिक भएको छ । खजुरा गाउँपालिका कृषि शाखाले आयोजना गरेको खजुरा गाउँपालिकाको कृषि प्रोफाइल प्रतिबेदन प्रस्तुतीकरण मा ४९ प्रतिशत अर्थात ४,९७६ जना कृषिमा संलग्न भएको पाइएको हो । प्रस्तुत गरिएको प्रतिबेदनले खजुरामा ९४.१९ प्रतिशत खेतियोग्य जमिन रहेको देखाएको छ ।
खजुराका २५ प्रतिशत जनताले १२ महिना कृषिमा संलग्न रहेको पाइएको कृषि शाखा प्रमुख पुनम पोखरेलले जानकारी दिनुभयो । २८ प्रतिशत क्षेत्रफलमा भने वर्षभरी नै सिचाई सुविधा रहेको प्रतिबेदनले देखाएको छ । कृषि विज्ञ सन्तोष उपाध्यायले प्रस्तुत गर्नुभएको प्रतिबेदनमा खजुरामा सबै भन्दा बढी धान खेती हुने गरेको उल्लेख गरिएको छ । जसमा धान ८५९१९ मे.ट. बार्षिक उत्पादन हुदै आएको छ । त्यस्तै गहुँ २२१४९मे.ट., तरकारी १३८ मे.ट. र मासु ११०८ मे.ट. उत्पादन हुँदै आएको देखिएको छ । खजुरालाई यान्त्रिकरण तर्फ अघि बढाउन गाउँपालिकाले किसानहरुलाई विगतका वर्षहरुमा पनि मेसिनरी सामान वितरण गरेको छ ।
अहिले दिइएको डाटा अनुसार १३१ वटा ट्राक्टर रहेको देखिएको छ भने ९३ वटा थ्रेसर र ८४ वटा रोटाभेटर किसानले प्रयोग गरिरहेका छन । खजुरामा ठुला पशुपालन गर्ने किसान १७ सय मध्य ४४६ वटा स्थानिय जातको गाई पालन गर्दै आएका छन । २१९ वटा उन्नत जातको गाई पालन गर्छन । त्यस्तै, ६९१ वटा भैसी पालन गर्दै आएका छन । २९१ गोरु र १३३ रागाँ रहेका छन । साना पशुहरुमा ४८ हजार ३ सय ८७ बाख्रा, ६०४ भेडा, १ हजार १ सय ३६ बंगुर गरेर ५५ हजार १ सय ५९ वटा संख्या रहेको प्रतिबेदनले देखाउछ ।
खजुरामा बाख्रा र बंगुरको पकेट क्षेत्र बनाउनु पर्ने तथ्याङ हेर्दा महसुस भएको खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले जनाउनुभयो । कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले आएको डाटा अनुसार रणनैतिक योजना बनाएर काम गर्न पर्ने आवश्यक देखिएको जनाउनुभयो । कृषिमा आमुल परिवर्तन आवश्यक रहेको बताउदै अध्यक्ष विकले यसतर्फ नयाँ प्रभावकारी कार्यक्रम ल्याइने उल्लेख गर्नुभयो । कार्यक्रममा प्रमुख प्रसाशकीय अधिकृत बम बहादुर केसी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सचिवहरु तथा अन्य कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।
