नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाले साझेदारी विकास कार्यक्रम अन्तर्गत लघु कर्जा लिएर सफल हुँदै गरेका ब्यवसायीहरुलाई पुरस्कार सहित सम्मान गरेको छ । मंगलबार नेपालगञ्ज उप–महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा १७ जना ब्यवसायीहरुलाई पुरस्कार सहित सम्मान गरिएको हो ।
उनीहरुलाई नगर प्रमुख प्रशान्त विष्ट र वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोवीले सम्मान गर्नुभयो । सो कार्यक्रममा नगर प्रमुख विष्टले साझेदारी विकास कार्यक्रम प्रभावकारी देखिएको भन्दै उपमहानगरको प्राथमिकतामा परेको बताउनुभयो ।
उहाँले सानो लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिने भएकाले उपमहानगरले यसलाई निरन्तरता दिने बताउनुभयो ।
वडा नम्बर २० का वडा अध्यक्ष धोवीले नागरिकताको भरमा नगरभित्र करिब चार करोड लगानी गरिएको भन्दै यो देशमै नमूनायोग्य काम भएको बताउनुभयो । सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले नेपालगञजको २० वडामा हालसम्म यो कार्यक्रम सञ्चालन गरिएको भन्दै २० हजार देखि दुईलाख रुपियाँ सम्म सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने गरिएको बताउनुभयो । उपमहानगरपालिकाले नियमित किस्ता र ब्याज बुझाउने, तोके अनुसारको ब्यवसाय सञ्चालन गर्ने ब्यवसायीलाई नगद ५ हजार सहित सम्मान गरेको हो ।