बाँकेको कोहलपुर क्षेत्रमा दुग्धजन्य पदार्थको मूल्य बढेको छ । नेपाल सरकारको निर्णयअनुसार कोहलपुरमा पनि दुग्धजन्य पदार्थको मूल्य बढाइएको हो । नेपाल सरकार मन्त्रीपरिषद् बैठकले देशभर १० रूपैयाँ मूल्य वृद्धि गरेको थियो । गत माघ २८ गतेको निर्णयअनुसार मूल्य वृद्धि भएको कोहलपुर डेरी एसोसियसनले जनाएको छ ।
सरकारले फागुन १ गतेबाट नयाँ मूल्य कार्यान्वयनमा ल्याउने परिपत्र गरेपनि कोहलपुरमा एकसातापछि निर्णयमा कार्यान्वयनमा आएको हो । कोहलपुर डेरी एसोसियसनका महासचिव सन्तोष पौडेलले फागुन ८ गते (आज)देखि लागू हुनेगरि सरकारको निर्णय अनुरूप मूल्य बढाउने निर्णय भएको जानकारी दिए । उनका अनुसार आजबाट नयाँ मूल्यमा उपभोक्ताहरूले दुग्धजन्य पदार्थ पाउनेछन् ।
नेपाल सरकारले दुध तथा दुग्धजन्य पदार्थको मूल्य वृद्धि गरेकोले सोही अनुसार कोहलपुर क्षेत्रमा लागू हुनेगरि सर्वसहमतिबाट नयाँ मूल्य कायम गरिएको उनले जानकारी दिए । नयाँ मूल्य अनुसार अबदेखि कोहलपुरमा होल दुध र स्याण्डर दुध प्रति लिटर समान ८६/८६ रूपैयाँ, सादा दही १२०, मिठा दही १३० रूपैयाँ कायम गरिएको छ । यस्तै पनि ७ सय, छुर्पी र मख्खन समान १ हजार, घ्यू १२ सय, मोही ६० र खुवा ८ सय रूपैयाँ कायम भएको हो ।