खजुरामा धुमधामका साथ रोपाइँ महोत्सव (फोटो सहित)

खजुरा : बाँकेको खजुरामा नौमति पन्चे बाजा बजाएर धुमधामका साथ १९औं रोपाइँ महोत्सव मनाइएको छ । खजुरा गाउँपालिका कृषि शाखाको आयोजनामा वडा नम्बर २ सिगाउँमा किसानहरुको खेतबारीमा मनाइएको रोपाई महोत्सबको उद्घाटन खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले धान रोपेर गरेका थिए ।

गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्ल, प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीले हिलो खेतमा नाचेर रोपाई महोत्सवलाई थप रमाइलो प्रदान गरेका थिए । ‘धानबालीमा जैविकताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ आयोजना गरिएको राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवमा महिला पुरुषहरुको छुट्टाछुटै हिले दौड प्रतियोगिता समेत गराइएको कृषि शाखा प्रमुख पुनम पोखरेलले जानकारी दिइन ।

धान दिवस मनाइरहेका किसानले धानमा उत्पादन राम्रो लिन मल चाहिने तर किसानले मल नपाउँदा दुखि भएको गुनासो गरेका थिए । खजुरामै आज अखिल नेपाल किसान महासघंले पनि छुट्टै रुपमा मनकामनापुरमा धान दिवस मनाएको छ । महासंघ बाँकेका अध्यक्ष कृष्ण विक्रम केसीले किसानको मलको समस्या चाडै सरकारले समाधान गर्न पर्नेमा जोड दिए । धान रोपेर किसानहरुले दहि चिउरा खायर रोपाई दिवस मनाए ।

प्रतिक्रिया