नेपालगन्ज : शिक्षा क्षेत्रको बजेट बढाउनका लागि बाँकेका स्थानीय तहसंग माग गरिएको छ । शिक्षाका लागि नागरीक सन्जाल (एनसीई) बाँकेको आयोजनामा आज नेपालगन्जमा आयोजित ‘नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा स्थानीय तहको बजेटमा सार्वजनीक शिक्षालाई प्राथमिकता’ विषयक अन्र्तक्रियाका सहभागिहरुले अहिले स्थानीय तहहरु बजेट निर्माणमा लागेकाले शिक्षा विषयलाई विशेष प्राथमिकता दिनुपर्ने माग गरेका हुन् ।
यसअघि नेपालगन्ज उपमहानगरपालिले शिक्षा क्षेत्रमा १ प्रतिशत बजेट छुट्याएको थियो । चुनावी घोषणा पत्रमा शिक्षा क्षेत्रमा २० प्रतिशत छुट्याउने भनिएपनि कार्यान्वयनमा नदेखिएकाले यसतर्फ स्थानीय सरकारको ध्यानार्कषण हुनुपर्ने शिक्षाविज्ञ जीतबहादुर शाहले बताए । हरेक क्षेत्रको सुधार शिक्षाले नै गर्न सक्ने भएकाले यसमा बजेट बढाउनुपर्ने उनको भनाई छ । जिल्ला समन्वय समितिका उपप्रमुख सिता कार्कीले यस विषयमा आफ्नो ध्यानार्कषण भएको बताउदै बाँकेका अन्य पालिकासंग छलफल गर्ने बताइन् । नेपालगन्जका मेयर प्रशान्त विष्टले शिक्षालाई उपमहानगरपालिकाले प्राथमिकतामै राखेको बताएका छन् ।
शिक्षाका लागि नागरीक सन्जाल (एनसीई) काठमान्डौको सहयोगमा बाँके शाखाले आयोजना गरेको कार्यक्रममा शिक्षाको अवस्था, चुनौति, सुधारका सम्भावना लगायतका विषयमा शिक्षाविज्ञ जीत बहादुर शाहले कार्यपत्र प्रस्तुत गरेका थिए भने इन्सेकका सदस्य कृष्णमुरारी प्रसाद भट्टले टिप्पणी गरेका थिए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि, शिक्षासेवी भद्रप्रसाद देवकोटा, गोविन्द घिमीरे, विष्णु प्रसाद सुवेदी, जयन्ती गीरी, सुनिता विष्ट लगायतका सरोकारवालाहरुको सहभागीता रहेको एनसिइ बाँकेका अध्यक्ष तारा खनालले जानकारी दिए । कार्यक्रम सन्चालन सन्जालका सचिव उषा थापा भण्डारीले गरेकि थिइन् ।