
बाराको निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने गोविन्द खरेलको घरमा मंगलबार दिउँसो चोरी भएको छ । चोरको समूहले खरेलको घरको मुल ढोका तोडफोड गरेर दराज र सन्दुकमा राखिएको नगदसहित लाखौं मूल्य बराबरको सुन चोरी गरेको हो ।
घरमा राखिएको करिब २५ तोला सुन र १ लाख रुपैयाँ चोरी भएको खरेलले जानकारी दिए । घरमा मान्छे नभएको मौका पारेर आएका चोरहरुले बिहान १० बजेदेखि दिउँसो ४ बजेको अवधिमा चोरी गरेको उनले बताए ।
आफन्तको बिहेमा सरिक हुन आफू बिहान १० बजे घरबाट निस्किएको र साँझ ४ बजे फर्किदा चोरी भएको पाइएको घरमुली खरेलले बताए । ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजीव ओलीले खरेलको घरमा मंगलबार दिउँसो चोरी भएको तर चोरी भएको सुन र नगदको बारेमा भने सबै जानकारी आउन बाँकी रहेको बताए ।