स्मार्ट कृषि गाँउमा १ सय मेट्रिकटन तरकारी उत्पादन

निशु जोशी, नेपालगन्ज : नेपालगन्ज १६ जयसपुरस्थित स्मार्ट कृषि गाँउ कार्यान्वयन समितिले यसवर्ष १ सय मेट्रिकटन बढीको तरकारी उत्पादन गरेको छ । गत कात्तिक महिनादेखि जेठ मसान्तसम्म गरि समितिले १ सय १० मेट्रिकटनको तरकारी उत्पादन गरि विक्रि गरिएको समितिका अध्यक्ष अस्लाम राईले जानकारी दिनुभयो ।

प्रदेश र स्थानीय सरकारको सहयोगमा २ वर्ष अघि स्थापना भएको समितिले बन्दा, खुर्सानी लगायतका तरकारीहरु नेपालगन्जको तरकारी मण्डी, कोहलपुर लगायत कर्णाली प्रदेशका सुर्खेत, जुम्ला हुम्ला लगायतका जिल्लामा पठाउदै आएको जनाएको छ । समितिमा वडाका ५० जना कृषकहरु आवद्ध छन् । तरकारी खेति र बाख्रापालनलाई प्राथमिकता दिदै आएको समितिले यसवर्ष ५ सय बढी बाख्रा पालन गरेका छन् ।

समितिमा बस्नका लागि अनिवार्य १० वटा बाख्रा पालन गरेको हुनुपर्ने नियम अनुसार कृषकहरुले बाख्राको पालन व्यवसाय बढाउदै लगेका छन् । समिति मार्फत किसानहरुलाई बाख्राका लागि गोठ, मोटर, मल विउ निःशुल्क उपलब्ध गराउन थालेपछि उत्पादन बढ्नुका साथै आयस्तरमा वृद्धि भएको उनिहरुले बताएका छन् । गत ६ महिनामा तरकारी बेचेरै एउटै किसानले एक सिजनमा २ लाखदेखि १० लाखसम्म आम्दानी गरेको उनिहरुको भनाई छ ।

तर ढुवानी र मलको समस्या भएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने उनीहरुले बताएका छन् । यसैविच, समितिले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । आज विहान जयसपुरमा एक कार्यक्रमको आयोजना गरि नेपालगन्ज उपमहानगरपालिकामा निर्वाचित मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्धिन राई लगायत वडामा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया