नेपालगन्जः बाँकेमा यही असार ९ गतेदेखि ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड विरुद्धको फाइजर–बायोएनटेक खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार ७६ हजारबढी बालबालिकालाई कोभिड विरुद्धको फाइजर–बायोएनटेक खोप दिन लागिएको हो ।
असार ९, १० र ११ गतेसम्म चल्ने खोप अभियानमा ७६ हजार २३९ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालयका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकामा २० हजार २३१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ भने सबैभन्दा कम नरैनापुर गाउँपालिकामा ६ हजार ३३२ जनालाई खोप लगाउने लक्ष्य छ ।
यस्तै बैजनाथ गाउँपालिकामा ८ हजार ३४५, डुडुवा गाउँपालिकामा ६ हजार ९८८, जानकी गाउँपालिकामा ६ हजार ३७२ जनालाई खोप लगाउने लक्ष्य छ । यस्तै कोहलपुर नगरपालिकामा १० हजार २३१, खजुरा गाउँपालिकामा ८ हजार २२४ र राप्तीसोनारी गाउँपालिकामा ९ हजार २५७ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ ।
स्वास्थ्य पत्रकार मंचले आयोजना गरेको कार्यक्रममा खोप अभियानबारे जानकारी दिँदै श्रेष्ठले अधिकांश खोप केन्द्र विद्यालयमा तोकिएका छन् । यसअघि बाँकेमा १२ वर्ष उमेर समूहभन्दा माथिका व्यक्तिलाई खोप लगाउने अभियान चलिरहेको छ ।
खोप लगाउने लक्षित समूह ४ लाख १ हजार ७९९ जनामध्ये अहिलेसम्म खोपको पहिलो मात्रा पूरा गर्नेको संख्या ८४.४ प्रतिशत रहेको छ भने दोस्रो मात्रा पूरा गर्नेको संख्या ७१.६ प्रतिशत रहेको छ । यस्तै बुष्टरको मात्रा लगाउनेको संख्या भने १८.२२ प्रतिशत मात्रै रहेको श्रेष्ठले जानकारी दिनुभयो ।
मंचका निर्वतमान अध्यक्ष कल्पना आचार्यले खोप अभियानलाई प्रभावकारी बनाउन संचारकर्मीहरुले सहि र तथ्य सूचनाहरु प्रवाह गर्न आग्रह गर्नुभयो । –स्वास्थ्य पेज