रवि लामिछानेले चुनाव लड्न टेलिभिजन छाडे

पत्रकार रवि लामिछाने राजनीतिमा आउने भएका छन्। ग्यालेक्सी फोर के टेलिभिजनमा ‘सिधा कुरा’ कार्यक्रमका सञ्चालक लामिछानेले टेलिभिजन छाडेका हुन्।

‘टेलिभिजनबाट औपचारिक बिदाइ कार्यक्रम भयो’, लामिछानेले भने, ‘आज मेरो अन्तिम एपिसोड प्रशारण हुनेछ, ह्याण्डओभर कार्यक्रम गर्दैछु।’

लामिछानेले आफूले राजनीतिमा लाग्ने निधो गरेको समेत बताए।

उनले कुन राजनीतिक दलबाट आफू उम्मेदवार बन्न लागेको भन्ने खुलाएनन्।

‘म भोलिदेखि सरसल्लाह गर्नेछु। आउँदो असार ७ गते राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर कस्तो राजनीति र कुन क्षेत्रबाट लड्ने लगायतका विषयमा प्रष्ट पार्छु’, लामिछानेले भने, ‘मलाई धेरै राजनीतिक दलबाट प्रस्ताव आएको छ। तर मलाई अहिलेका राजनीतिक दलहरूमा त्यतिधेरै चासो छैन। तर म सल्लाहको चरणमा छु।’

उनले आफू स्वतन्त्र रूपमा राजनीतिमा लाग्ने सोचमा समेत नरहेको बताए।
‘एक्लै स्वतन्त्र जाने सोच छैन’, लामिछानेले भने, ‘बरू भएका स्वतन्त्रहरूलाई जोड्ने योजना बनाउँदैछु।’

लामिछानेले भने आफूले चुनाव लड्ने निर्वाचन क्षेत्रबारे केही बताएनन्।

प्रतिक्रिया