नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज भेटवार्ता गरेका छन्। ललितपुरको खुमल्टारस्थित दाहालनिवासमा भएको भेटवार्तामा उनले अध्यक्ष दाहालसँग काठमाडौं महानगरको समग्र विकासका सन्दर्भमा कुराकानी गरेका छन्। महानगरको विकासका सन्दर्भमा विभिन्न राजनीतिक दलका प्रमुखहरूसँग भेटवार्ता गर्ने क्रममा उनले आज अध्यक्ष दाहालसँग भेटघाट गरेका हुन् ।
भेटमा प्रमुख शाहले आफू स्वतन्त्र भएकाले सबै दलसँग काम गर्न सजिलो रहेको जानकारी दिँदै फोहाेर व्यवस्थापनलगायतका कामको थालनी भएको जानकारी गराएका अध्यक्ष दाहालका प्रेस सहयोगी सूर्यकिरण शर्माले जानकारी दिए।
अध्यक्ष दाहालले माओवादी पार्टीले पनि युवालाई समेटेर अघि बढेको र यसपालिको स्थानीय तह निर्वाचनमा पनि युवाहरू नै बढी विजयी भएको जानकारी दिँदै युवाको विकास अभियानमा साथ र सहयोग रहने विश्वास व्यक्त गरेका छन्।
शाहको सचिवालयका अनुसार काठमाडौंमा उनको विजय नै आम नेपालीको विजय भएको उल्लेख गर्दै कुनै एउटा पार्टीगतभन्दा पनि मतदाताको सम्मानका लागि विकासका काम गर्न अध्यक्ष दाहालले शुभकामना दिएका छन् । अध्यक्ष दाहालले धरान, काठमाडौंलगायतमा स्वतन्त्र उम्मेदवार विजयी हुनुले मुलुकमा नयाँ क्रान्तिको सुरुवात भएको बताएका सचिवालयले जनाएको छ।
भेटपछि प्रमुख शाहले अध्यक्ष दाहालसँगको भेटमा आफूले विकासको काममा निरन्तरता दिने, विकासको एजेन्डा बोक्न सक्ने दृष्टिकोण भएका व्यक्तिलाई राजनीतिमा ल्याउनुपर्ने आवश्यकता रहेको बताएको राससलाई जानकारी दिए। यसअघि प्रमुख शाहले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। रासस