नेपालगञ्ज : बाँकेको राप्तीसोनारीमा बाघको आक्रमणमा परि स्थानिय धन बहादुर चलाउनेको ज्यान गएको छ । बाँके राप्तीसोनारी गाउँपालिका फत्तेपुरमा शनिवार विहान करिब ८ बजे ६० बर्षका स्थानिय धन बहादुर चलाउने दाउरा खोज्न गएको अवस्थामा वाघले आक्रमण गरेर मारेको हो ।
मृतक धन बहादुरको शव फेला परिसकेको छ । बाघले बिहान फत्तेपुरस्थित राप्ती पीडित सामुदायिक वन अन्तरगत पर्ने सिक्टा सिचाइँ आयोजनाको पुर्वी नहरको छेउमा ६० वर्षीय चलाउनेलाई आक्रमण गरेको राप्ती सोनारी ६ का स्थानीय प्रदिप पौडेलले जानकारी दिए । उनका अनुसार बाघले चलाउनेलाई करिव ५ सय मिटर जंगल भित्र लगेको थियो ।
गाउँबाट ठुलो संख्यामा गाउँलेहरु जंगल भित्र पुगेपछि बाघले शवलाई छाडेर भागेको थियो । दाउरा, घाँस काट्नका लागि सामुदायिक वन क्षेत्रमा करिव २५÷३० जनाको संख्यामा शनिबार बिहाान जंगलमा गएका थिए । करिव महिनाअघि पनि वडा नम्बर ६ कै २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी ४ पर्सोना निवासी ५३ वर्षीया लिला बिष्टलाई पनि बाघले आक्रमण गरी मारेको थियो ।