
नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेका वीउ विजनको कारोबार गर्ने पसल तथा फर्महरुमा धानको वीउ लिन भारतिय किसानहरुको भिड लाग्ने गरेको छ । वर्षायाम सुरु हुन लागेको बेला नेपालका किसान सगैं छिमेकी देश भारतिय किसानहरु पनि विउको जोहो गर्न नेपालगन्जका एग्रो पसलहरुमा आउने गरेका हुन ।
केहि दिन देखि नेपालगन्जका एग्रो पसलहरुमा भारतिय किसानहरु समुह बनाएरै विउ लिन आउने गरेका छन । नानपारा बाट नेपालगन्जमा राम धानको वीउ लिन आएका राम नरेस मौर्या हरेक वर्ष नेपालबाटै वीउ लिने गरेको बताए ।

भारतमा राम धान नपाइने तर किसानले मन पराउने भएका कारण नेपाली उन्नत जातका वीउ भारतिय किसानको रोजाइमा पर्ने गरेको व्यवसायि बताउँछन । भारतिय किसानहरु नेपालको राम धान र राधा ४ जातको वीउ लिन बढी आउने गरेका छन । दैनिक जसो ८ सय देखि १ हजार सम्म भारतिय किसानहरु नेपालगन्जको एग्रो पसलहरुमा धानको वीउ लिन आउने गरेका छन ।
नेपालमा उत्पादित उन्नत जातका धानका वीउहरु नै व्यवसायिहरुले विक्रिमा प्रोत्साहन दिने गरेको मोर्डन एग्रो टेक्नोलोजीका संचालक किरण ढकालले उल्लेख गरे । यस क्षेत्रमा राम धान, राधा ४, ६४४४ हाइव्रेड, सावित्री, सर्जु ५२ लगाएतका जातहरु किसानहरुको रोजाइमा पर्ने गरेको छ ।