लाइफ लाइन निजी अस्पतालबाट डायलासिस सेवा दिने नेपालगन्जको पहिलो अस्पताल

बाँके : नेपालगन्ज स्थित लाइफ लाइन जनरल हस्पिटलले मिर्गौलाको डायलासिस सेवा दिन थालेको छ । मिर्गौलाका विरामीलाई डायलासिस सेवा दिने लाइफ लाइन जनरल अस्पताल निजी अस्पताल मध्ये बाँकेमा दोस्रो हो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले डायलासिस सेवा दिँदै आएको छ । सरकारी अस्पताल अन्तरगत नेपालगन्जस्थित भेरी अस्पतालले पनि डायलासिस सेवा दिँदै आएको छ ।

मिर्गाैलाका विरामीलाई अत्यावश्यक पर्ने डायलासिस सेवा सुरु गरेको अस्पतालका ब्यवस्थापक डा. प्रतिक श्रेष्ठले बताए । उनले निजी अस्पतालबाट डायलासिस सेवा दिने लाइफ लाइन नेपालगन्जको पहिलो अस्पताल भएको बताए ।

मिर्गौलाका विरामीको संख्या बढ्दै गएपछि भेरी अस्पताल र कोहलपुरस्थित मेडिकल कलेजले थेग्न नसकेका कारण विरामीहरु डायलासिस सेवाबाट बञ्चित हुँदै आएका छन् । विरामीको चापलाई मध्यनजर गरि डायलासिस सेवा सुरु गरिएको उनले बताए ।

कर्णाली र सुदूरपश्चिममा डायलासिस सेवा नहुँदा मिर्गौलाका विरामीहरु बाँकेका अस्पतालमा निर्भर हुँदै आएका छन् । ‘पर्याप्त संख्यामा डायलासिस मेसिन नहुँदा भेरी अस्पतालले विरामीको चाप थेग्ने अवस्था छैन,’ भेरी अस्पतालका डायलासिस विभाग प्रमुख डा. पारस श्रेष्ठले भने ।

विरामीले पालो नपाउँदा काठमाडौं र भारतको लखनऊ जानु पर्ने बाध्यता रहेको उनको भनाई छ । लाइफ लाइन हस्पिटलमा डायलासिस सेवा सुरु भएपछि बिरामीलाई अन्यत्र जानु पर्ने बाध्यता अन्त्य हुने उनले बताए ।

लाइफ लाइनले दुई वटा उपकरण मार्फत डायलासिस सेवा दिँदै आएको अस्पतालका ब्यवस्थापक डा. प्रतिकले बताए । ‘उपकरण थप गरि चौविसै घण्टा डायलासिस सेवा दिने तयारीमा छौँ,’ उनले भने, ‘कुनै पनि विरामी डायलासिस सेवाबाट बञ्चित हुन नपरोस् भन्ने हाम्रो उद्देश्य छ ।’

प्रतिक्रिया