काठमाडौं । गुगलले प्ले स्टोरबाट एप डाउन गर्दा मोबाइलको होम स्क्रिनमा डाउनलोड भइरहेको देखाउने नयाँ फिचर उपलब्ध गराएको छ । गुगलले गएको मे महिनामा एन्ड्रोइड १२ को बेटा भर्सन परिक्षण गर्ने क्रममा यो फिचरको बारेमा जानकारी दिएको थियो ।
तर, अब भने यो फिचर प्रयोगकर्तामाझ नै उपलब्ध भएको जनाइएको छ । यो सँगै जब तपाईंले गुगल प्ले स्टोरमा गएर कुनै एप इन्स्टलका लागि ‘ग्रीन’ बटनमा क्लिक गर्नुहुन्छ तब उक्त एपको ब्ल्याक एण्ड ह्वाइट भर्सन मोबाइलको होम स्क्रिनमा देखिने छ ।
उक्त भर्सनमा कति प्रतिशत डाउनलोड भयो भन्ने जानकारी पनि देखिने छ । जब उक्त एप डाउनलोड सम्पन्न हुनेछ तब तपाईंले त्यसमा क्लिक गर्दा इन्स्टललिङ प्रक्रिया अघि बढ्नेछ ।
अर्कोतर्फ यदि तपाईंले एकै पटक धेरै एप डाउनलोड गर्न खोज्नु भएको खण्डमा एउटा एप डाउनलोड भइरहेको र अन्य एप पेन्डिङमा रहेको समेत होम स्क्रिनमा देखिनेछ । यो हुँदा आफूले जानकारी गरिरहेको एपको बारेमा जानकारी लिन सहज हुने विश्वास लिइएको छ ।