
गुलरिया : बर्दिया बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका हिमालय त्रिपाठी र उपाध्यक्षमा नेकपा एमालेकी लक्ष्मी अधिकारी विजयी भएका छन्। अध्यक्षमा एमालेका लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा कांग्रेसकी पवित्राकुमारी अर्याललाई पराजित गर्दै त्रिपाठी र अधिकारी विजयी बनेका हुन्।
अध्यक्ष पदमा माओवादी केन्द्रका त्रिपाठीले ९ हजार ३६७ मत प्राप्त गरेका छन्। प्रतिस्पर्धी एमालेका लालबहादुर श्रेष्ठ ८ हजार ३०८ मतमा समेटिए। उपाध्यक्ष पदकी विजेता एमालेकी अधिकारीले ८ हजार ८८५ मत प्राप्त गरिन्। प्रतिस्पर्धी कांग्रेसकी अर्यालले ८ हजार ३१५ मत प्राप्त गरिन्। बढैयातालमा तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका भगतबहादुर नेपालीले ६ हजार ५५० र माओवादी केन्द्रकी कमला गुरुङले ६ हजार ७०२ मत ल्याउन सफल भए।
बढैयाताल गाउँपालिकाका ९ वडामध्ये ७ वडा नेकपा एमाले एक/एक वडा माओवादी र कांग्रेसले जितेका छन्। नेकपा एमालेबाट वडा नम्बर १ को अध्यक्षमा प्रेमबहादुर थापा क्षेत्री, २ मा डिलादेव गिरी, ३ मा लल्लन अहिर, ४ मा नरे थापा, ७ मा राधेश्याम थारु, ८ मा तेजनाथ पौडेल र वडा नम्बर ९ को अध्यक्षमा वीरबहादुर थारु विजयी भएका छन्। वडा नम्बर ५ मा माओवादीबाट तुलाराम चौधरी र वडा नम्बर ६ मा नेपाली कांग्रेसबाट शुक्रराज सापकोटा विजयी भएका हुन्।
नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका निकतम प्रतिद्वन्द्वी लालबहादुर श्रेष्ठ निवर्तमान बढैयाताल गाउँपालिकाका अध्यक्ष हुन्।