खजुरामा २०७४ मा पराजित अहिले विजयी

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकामा २०७४ सालको निर्वाचनमा पराजित वडा अध्यक्षका उम्मेदवारहरु विजयी हुनुभएको छ । वडा नम्बर १, २ ,३, ४, ५ र ६ मा अघिल्लो स्थानीय तहको निर्वाचनमा पराजित वडा अध्यक्षका उम्मेदवारहरुले सफलता हात पार्नुभएको छ ।

वडा नम्बर १ मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका मनवीर क्षेत्री विजयी हुनुभएको छ । अघिल्लो निर्वाचनमा एमालेका सुमन मल्लले एक हजार ५८ मत प्राप्त गरि विजयी हुँदा ३०७ मत प्राप्त गरी तेश्रो हुनुभएका क्षेत्री यसपटक एमालेका उम्मेदवार जयवीर थापालाई १८५ मतको अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । क्षेत्री एकहजार ६१ मत प्राप्त गरी विजयी हुनुभयो ।
वडा नम्बर २ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका धनीराम वली क्षेत्री दुई हजार ४२९ मत प्राप्त गरि विजयी हुनुभएको छ । वली अघिल्लो निर्वाचनमा एमालेका देवीराम शर्मासँग ७४० मतले पराजित हुनुभएको थियो । यसपटक वलीले एमालेका सम्मरवहादुर खत्रीलाई ३९८ मतान्तरले पराजित गरि विजयी हुनुभएको हो ।

वडा नम्बर ३ मा पनि यसअघिको निर्वाचनमा पराजित हुनुभएका नेकपा एमालेका पूर्णवहादुर भण्डारी विजय हुनुभएको छ । भण्डारी अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रका कान्तुराम गौतमसँग ९४ मतको अन्तरले पराजित हुनुभएको थियो । यस पटक भण्डारीले स्वतन्त्र उम्मेदवार विकास काउँचा मगरलाई २१६ मतान्तरले पराजित गरि विजयी हुनुभयो । भण्डारीले १२९९ मत ल्याउनुभएको छ भने मगरले १०८३ मत ल्याउनुभएको हो ।

वडा नम्बर ४ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका टेकवहादुर रोका क्षेत्री एकहजार २६९ मत प्राप्त गरि विजयी हुनुभयो । उहाँले एमालेका तिलकवीर सुनारलाई १०३ मतान्तरले पराजित गर्नुभयो । रोकाय अघिल्लो निर्वाचनमा एमालेका सुनारसँग नै २७९ मतान्तरले पराजित हुनुभएको थियो ।

वडा नम्बर ५ मा नेकपा माओबादि केन्द्रबाट उम्मेदवार बन्नुभएका गरिबे सेखले ९६७ मत ल्याएर विजयी हुनुभएको छ । गरिबे सेख २०७४ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार देवेन्द्रमान श्रेष्ठसंग झिनो मत अन्तरले हार बेहोर्न परेको थियो ।
त्यस्तै वडा नम्बर ६ मा नेकपा माओबादि केन्द्रबाट उम्मेदवार बनेका फारुक सेख २०७४ सालको स्थानिय तह निर्वाचनमा एमालेका साविर जोलाह संग १ सय मत भन्दा पनि कमको अन्तरमा पराजित भएका थिए । अहिले तिनै साविर जोलाहलाई हराउँदै फारुक वडाध्यक्षमा विजयी बनेका छन । ८७४ मत ल्याएर फारुक वडाध्यक्षमा विजयी बन्नुभयो । ३२६ मतान्तरले फारुकले यस पटक जोलाहलाई बराजित गरेका हुन ।

निर्वाचनमा पराजित भएपनि निरन्तर जनताको माझमा रहेर सुखदुखमा साथ दिएका कारण जनताको सहानुभुती रहेकाले यसअघिको निर्वाचनमा पराजित भएका उम्मेदवारहरु विजयी हुन सफल भएको स्थानिय बताउँछन ।

प्रतिक्रिया