दैनिक तपाईंको फेसबुकमा थुप्रै नोटिफिकेसनहरू आउँछ होला। अन्य फेसबुक प्रयोगकर्ताले तपाईंको फोटोमा लाइक अथवा कमेन्ट गरेको, कसैको जन्मदिन भएको, कसैले कुनै पेजमा लाइक गर्न रिक्वेस्टल गरेको लगायत विभिन्न नोटिफिकेसन पाउनुहुन्छ होला।
यस्तोलाई सरल भाषामा बुझ्दा ‘पुस नोटिफिकेसन’ भनेर बुझ्न सकिन्छ। तपाईं कुनै उपकरणबाट फेसबुक चलाइरहनु भएको छ भने यी नोटिफिकेसनहरू पपअप हुन्छ। अर्थात् स्क्रिनमा देख्न सक्नुहुन्छ। यदि तपाईं फेसबुकमा कुनै पनि कमेन्ट, मेसेज, लाइभस्ट्रिम वा अन्य नोटिफिकेसनहरू केही नछुटोस् भन्ने चाहनुहुन्छ भने पुस नोटिफिकेसन तपाईंको लागि उपयोगी हुन सक्छ।
तर यदी तपाईंलाई यसरी देखाउन नोटिफिकेसनह झन्झटिलो लाग्छ भने तपाईंले पुस नोटिफिकेसन अफ गर्न सक्नुहुन्छ। यसको लागि फेसबुक नोटिफिकेसको सेटिङ्समा केही परिवर्तन गर्नुपर्ने हुन्छ किनभने फेसबुकले सुरूमा पुस-नोटिफिकेसन अन नै राखिदिन्छ।
यसरी गर्नुहोस् फेसबुकको नोटिफिकेसन अन/अफः
– सुरूमा फेसबुक लग-इन गरेर सेटिङ्स एन्ड प्राइभेसीमा जानुहोस्।
– यसभित्र रहेको सेटिङ्स भन्ने विकल्प रोज्नुहोस्।
– यहाँ अकाउन्ट, प्रिफिरेन्सेस, अडियन्स एन्ड भिजिबिलिटी लगायत विभिन्न खण्ड छन्। त्यसको प्रिफिरेन्सेस भन्ने खण्डमा जानुहोस्।
– यसभित्र न्युज फिड, रियाक्सन प्रिफिरेन्सेस, नोटिफिकेसन जस्ता विकल्प देख्नुहुन्छ। त्यसमध्ये, नोटिफिकेसन भन्ने विकल्प थिच्नुहोस्।
– अब तपाईं नोटिफिकेसनको सेटिङ्सभित्र हुनुहुन्छ। यहाँ तपाईंले ‘ह्वाट नोटिफिकेसन यू रिसिभ’ अन्तर्गत ‘कमेन्ट’, ‘ट्याग्स’, ‘रिमाइन्डर’, ‘फ्रेन्ड रिक्वेस्ट’लगायत थुप्रै आइटमहरू देख्नुहुन्छ। यसबाट तपाईंले कुन विषयको कसरी नोटिफिकेसन चहानुहुन्छ, त्यसअनुरुप मिलाउन सकिन्छ।
उदाहरणको लागिः सुरूमा देखिने कमेन्ट भन्ने विकल्प रोज्नुहोस्। यहाँ तपाईंले पुस, इमेल, एसएमएस जस्ता विकल्प देख्नुहुन्छ। यसमध्ये तपाईंलाई कमेन्टसम्बन्धी आएका नोटिफिकेसन कसरी चाहनुहुन्छ, त्यसलाई अन अथवा अफ गर्नुहोस्। तपाईंले जुन विकल्प अन गर्नुहुन्छ त्यसैमा नोटिफिकेसन आउँछ। तर यदि कुनै पनि ठाउँमा नोटिफिकेसन नआओस् भन्ने चहानुहुन्छ भने सबै विकल्पलाई अफ गरी राख्नुहोस्।
यसबाहेक तपाईंले एकैपटक सबै आइटमको नोटिफिकेसन बन्द पनि गर्न सक्नुहुन्छ। यसको लागि नोटिफिकेसन सेटिङ्सभित्र रहेको ‘ह्वेर यू रिसिभ नोटिफिकेसन’ को पुस विकल्प रोज्नुहोस्। यसभित्र ‘म्युट नोटिफिकेसन’ थिच्नुहोस्। तपाईंले नोटिफिकेसन १५ मिनेटदेखि ८ घण्टाको लागि म्युट अर्थात् बन्द गर्न सक्नुहुन्छ।
त्यस्तै, इमेल र एसएमएस (फेसबुक खोल्न इमेल र मोबाइल नम्बर प्रयोग गर्नुभएको खण्डमा) मा नोटिफिकेसन आउने बनाउन अथवा बन्द गर्न ‘ह्वेर यू रिसिभ नोटिफिकेसन’ भन्ने खण्डअन्तर्गत रहेको इमेल र एसएमएसमा गएर आइटमअनुसार नोटिफिकेसन अन अथवा अफ गर्न सकिन्छ।
फेसबुकमा जस्तै मेसेन्जर एपमा पनि नोटिफिकेसन बन्द गर्न सकिन्छ। यसको लागि तपाईंले मेसेन्जरको सेटिङ्समा गएर ‘नोटिफिकेसन एन्ड साउन्ड’ भन्ने विकल्प रोज्नुहोस्। यहाँ तपाईंले थप विभिन्न विकल्प देख्नुहुन्छ। यसबाट सबैभन्दा माथि रहेको अनलाई अफ गरी मेसेन्जरको नोटिफिकेसन अफ गर्न सक्नुहुन्छ। यसै पृष्ठबाट अन्य सेटिङ्सहरू पनि मिलाउन सक्नुहुन्छ।