
खजुरा : स्थानीय तहको निर्वाचनको रापतापले खजुराका मतदाताहरुलाई छोएको छ । टोलका सार्वजनिक पाटी, पौवाहरु र चिया पसलहरुमा मतदाताहरु कस्ले जीत्छ, कस्ले हार्छ भनेर विश्लेषण गरिरहेका भेटिन्छन् । खबरगन्जले यसै सिलसिलामा खजुराका ८ वडाहरुमा मतदाताहरुसंग गरेको प्रत्यक्ष संवादले खजुराका मतदाताहरुको मुड जान्ने प्रयास गरेको छ ।
८ वडाका १२२ मतदाताहरुसंग गरिएको कुराकानीका आधारमा यो समाचार तयार पारिएको हो । १ सय २२ मतदाता मध्ये ७८ मतदाताले एमालेलाई मत दिने बताए । ३० मतदाताले गठबन्धनलाई मत दिने बताए । १४ मतदाताले अझै निर्णय नगरिसकेको बताए ।
यस मध्ये २५ मतदाता पहिलो पटक मत दिनलागेका हुन् । पहिलो पटक मत दिने मध्ये १८ जनाले मतदाताले एमालेका अध्यक्षका प्रत्याशी सुमन मल्ललाई मत दिने बताए । यि १८ जना २५ वर्ष भन्दा कम उमेरका मतदाता रहेका छन् ।
खजुरा ३ विमल शर्मा भन्छन्, यसपाली मान्छे हेरेर भोट हाल्ने हो । परिक्षण भैसकेको सुमन मल्लको टिमलाई नै मत दिने मुड छ । एमाले नेता भिम वली भन्छन्, खजुरामा करिब ८ हजार नयाँ मतदाता थपिएका छन् । यि मतदाताहरुको मुडलाई बुझेर नै सुमन मल्ललाई हामीले सर्वसम्मत प्रत्याशी बनाएका हुन् ।
एमालेलाई मत दिने मध्ये ४५ मतदाताले यस अघि पनि एमालेलाई नै मत दिएको बताए । खजुरा ६ गिजरा वस्तीको मूल सडकको छेउमा रहेको चौतारामा भेटिए ५६ वर्षे टिकाराम सुनार । गत चुनावमा एमालेलाई मत दिएका उनले भने, भोट फेरि पनि सुर्यमा नै दिने हो । १८ मतदाता पहिले कांग्रेसलाई मत दिएका मतदाता हुन् । यसैगरि १५ मतदाताले यसभन्दा अगाडि माओवादीलाई मत दिएको बताए ।
गत चुनावमा कांग्रेसलाई मत दिने तर यसपाली एमालेमा मत दिने मन बनाएका वडा नं. ५ का कांग्रेसका सक्रिय सदस्य भन्छन्, टाउकोमा हाम्रो उम्मेदवार नै छैन । फेरी वडामा हाम्रो प्रतिस्पर्धा माओवादीसंग हो । तल हराउने अनि माथि जिताउने यस्तो उट्पट्यांग काम गरिदैन ।
गठबन्धनलाई मत दिने ३० मतदाता मध्ये यस अघि माओवादीलाई मत दिएका २२ मतदाता रहेका छन् । माओवादीमा प्रतिवद्ध खजुरा २ का मतदाता भन्छन्, मेरो मुडमा तलमाथि भएको छैन । ८ मतदाता कांग्रेसका हुन् ।
खजुराका चुनावलाई मसिनोसंग हेरिरहेका एमाले प्रचार विभाग प्रमुख सतिस निरौला भन्छन्, ‘माहौल एमालेको पक्षमा जबरजस्त रहेको छ । एमालेको बलियो संगठन, उत्साही कार्यकर्ता र जागरुक मतदाता नै खजुरा एमालेले क्लिन स्वीप गर्ने आधार हो ।’