सुमन मल्लको परिचय एक युवा नेताको रुपमा छ । खजुरा गाउँपालिका वडानम्ब १ का निवर्तमान वडाध्यक्ष रहेका मल्ल अहिले खजुरा गाउँपालिकाको अध्यक्षमा एमालेका तर्फबाट उम्मेदवार छन् । वडाध्यक्ष भएर राम्रो काम गरेको भन्दै अध्यक्षको उम्मेदवारी पाउने थोरै व्यक्तिमा पर्छन् मल्ल । उनले गाउँमा भौतिक पूर्वाधारमा गरेको विकास, कोरोनाका बेला देखाएको अग्रणी भूमिका, जनतासँगको घुलमिलका कारण मल्ललाई अध्यक्षको उम्मेदवार बनाइएको एमालेका नेताहरु बताउँछन् । मल्लसँग उनको उम्मेदवारी र खजुराका लागि उनले अघि सारेका योजनाकाबारे गरिएको कुराकानी :
१. तपाईंको उम्मेदवारी किन ?
खजुराको समग्र विकास र खजुरावासीको खुसहालीका लागि हो मेरो उम्मेदवारी । म नेता बन्न हैन, सेवक बन्ने तयारीको साथ निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको छुँ । ५ वर्षको वडा अध्यक्षको कार्यकालमा सम्पन्न भएका कामहरुले मलाई पालिका अध्यक्ष बन्न आग्रह गरेको हो । म यसो किन भनिरहेको छु भने मलाई पार्टी, कार्यकर्ता र आम मतदाताले भरोसा दिलाउनु भयो । उम्मेदवार हुन घच्घच्याउनु भयो । खजुरा हाम्रै पालामा विकसित हुनुपर्छ भन्ने युवा मनोविज्ञानले पनि साथ दियो । यी सबैको समग्र परिणाम नै मेरो उम्मेदवारी हो ।
२. तपाईंका योजना के–के हुन् ?
संक्षेपमा भन्नुपर्दा हामी तीन कुरामा विशेष केन्द्रित भएका छौं । एक, समृद्धि दुई, सुशासन र तीन समाजवाद । हामी यिनै तीन कुराको आधार निर्माण गर्ने अभियानमा छौं । खजुरामा हामीले शिक्षा र युवा उद्दमशीलता तथा कृषिमा केन्द्रित भएर प्रतिबद्वता पत्र सार्वजनिक गरेका छौं । हाम्रो ११२ बुँदाको प्रतिबद्वता पत्र नोमिनेसन गरेको भोलिपल्ट सार्वजनिक गरेका हौं । हामीले निर्वाचन प्रचारमा भनेका छौं, प्रतिबद्वता पत्र गोली मिठाई हैन । यसलाई सुरक्षित राख्नुहोस् र पूरा भए नभएको आफैँ अनुगमन गर्नुहोस् ।
मुख्यतः सामूदायिक विधालयको शैक्षिक गुणस्तरमा रुपान्तरण हाम्रो लक्ष्य हो । यसका लागि हामीले भौतिक पूर्वाधारको विकास, शिक्षक प्रोत्साहन मात्र नभै नागरिकको आँखाबाट गुणस्तर वृद्धिका लागि योजना तयार गरि कार्यान्वयन गर्ने छौं । पालिकाको बजेटबाटै हामी बुढानिलकण्ठ मोडेलको एउटा स्कुल बनाउने छौं । यसैगरी हामीले किसानको उत्पादनमा नै इन्सेन्टिभ दिने तथा कृषि उपजको अनलाइन मार्फत बजारीकरण गर्ने व्यवस्था गर्ने छौं ।
युवाहरुलाई स्वरोजगार बनाउन २० करोड रुपैंयाको उद्दमी युवा कोष बनाउने छौं । ५ वर्षमा यसबाट २ हजार युवाहरु स्वरोजगार उद्यमी हुनेछन् ।
यतिमात्र हैन, ११२ बुंदामा हामीले खजुराको समृद्धि सुशासनका आधार निर्माण गर्ने सबै क्षेत्रहरु समेटेका छौं । म मतदान गर्नु अघि यी प्रतिबद्वता अध्ययन गरिदिनहुन आम मतदातालाई आग्रह गर्न चाहन्छु । र जोड दिएर भन्छु, नहुने कुरा नभन्ने मेरो बानी रहेको छ । यसैले यी प्रतिबद्वताहरु पुरा गर्ने मेरो पहिलो प्राथमिकता हो ।
३. योजना कसरी पूरा गर्नुहुन्छ ?
यी योजनाहरु हैन । हामीले हाम्रो प्रतिबद्वता सार्वजनिक गरेका हौं । यसैका आधारमा योजना बन्नेछन् । जिते पछि हामीले नयाँ नीति कार्यक्रम र बजेट बनाउनु अघि यी ११२ बँुदे प्रतिबद्वता पूरा गर्ने समय सारिणी सहितको एक्सन प्लान सार्वजनिक गर्नेछौं । हामीले प्रस्तुत गरेका एक–एक प्रतिबद्वताको एक–एक कार्ययोजना निर्माण हुनेछ । आम जनताको अपार सहभागितामा यसको कार्यान्वयन हुनेछ । प्रतिबद्वताका बुंदाहरु साहित्य सिर्जना हैनन् । यी त समृद्धिका आधारहरु हुन् ।
४. योजना कसरी छनोट गर्नुभयो ?
मैले अघि भनिसके यी प्रतिबद्वता ललीपप हैन । यसको निर्माणमा सिंगो पार्टी पंक्तीको अपनत्व छ । हामीले सफलताका साथ चलाएको अघिल्लो पालिकाको सिकाइ, अनुभव र परिणामलाई आधार बनाएका छौं । यहाँलाई भनौं खजुरा भरी हाम्रो ७६ टोल कमिटी छ । यी कमिटी मार्फत जनताका समस्यासंग एकाकार हुँदै तिनको समाधानको रुपरेखा कोर्नका लागि बटम टु टप अवधारणा अन्तर्गत तल्ला कमिटी मार्फत समूदायका समस्या, सवालहरुलाई हामीले लिपिबद्ध गरि प्रतिबद्वता पत्र निर्माण गरेका हौँ ।
५. जनप्रतिनिधिले कार्यकर्ता लागि मात्रै योजना निर्माण गर्छन भन्ने आरोप छ । तपाईं निर्वाचित भएपछि यसलाई कसरी व्यवस्थित गर्नुहुन्छ ?
यस्तो हुँदैन । हुनुहँुदैंन । र हुन दिईदैन । योजना निर्माण वा कार्यान्वयनको चरणमा हामीले खोज्ने मुख्य तीन कुरा हो । एक, सहभागिता, पारदर्शिता र जवाफदेहिता । योजना निर्माणमा जनताको सहभगिता हाम्रो लागि महत्व छ । हामी हाम्रो गोजीबाट वा कार्यकर्ता पाल्न, पोस्न जनताको करको दुरुपयोग हुन नदिन प्रतिबद्ध छौं । योजना कार्यान्वयनमा पनि जन अनुमोदित हुनै पर्छ । यो हाम्रो मान्यता हो । आगामी ५ वर्ष तपाईंले कार्यकर्ता हैन जन परिचालनका माध्यमबाट खजुरामा ठूला महत्वका योजना अभियानहरु कार्यान्वयन भएको देख्न पाउनुहुनेछ ।
६. तपाईंले जित्ने आधारहरु के–के हुन् ?
जनविश्वास । जनताको माया । मेरो इमान्दारीता नै मेरो जित्ने आधार हो । हामीले विगतमा गरेको कामको मुल्यांकनले जित्ने आधार तय गरेको छ । हाम्रो पार्टीको संगठन, जनताको पार्टी प्रतिको विश्वासले हामीले चुनाव जितिसकेका छौं । केवल कुर्सीका लागि मात्र गरिएको गठवन्धन अप्राकृतिक र अप्रासंगिक छ भन्ने जनताले बुझिसकेका छन् । यसैले गठवन्धनलाई तिरस्कार गर्दै जनताले मतदान सुर्यमा गर्छन् । यो मेरो विश्वास मात्र नभै धरातलीय यथार्थ पनि हो ।