
नेपालगन्ज : नेकपा एमालेको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार पशुपति दयाल मिश्र र उपेयर उम्मेदवार शान्ति ढकालले यसपटक सहानुभुती मत सहित बिजय हुने आकल गरिएको छ । यहाँको विकासका लागि पटक –पटक जनताबाट अनुमोदित हुन चाहेका मिश्र र ढकाललाई मतदाताले न्याय गर्ने ‘मुड’ बनाएका छन् ।
मतदाताले मिश्रलाई परिपक्क नेताका रुपमा बुझेका छन् । गाविस अध्यक्ष, जिल्ला विकास समितिको सभापति हुँदै राजनीतिमा उदाएका मिश्रको परिपक्कता नेपालगन्जको विकासका लागि उपयोगी हुने बुझाइ धेरैको रहेको नेकपा एमाले नगर कमिटिका अध्यक्ष दत्तप्रसाद आचार्य बताउँछन् ।
‘नेपालगन्जका लागि पशुपतिदयाल मिश्र बेग्लै हाइट भएको नेताका रुपमा परिचित हुनुहुन्छ । उहाँको अनुभव यहाँको विकासका लागि उपयोगी हुन्छ भन्ने मतदाताको बुझाइरहेको पाइएको छ ।’ नेपालगन्जमा धवल शम्सेर राणाको बिरासत थाम्नका लागि मिश्र भन्दा अर्को बिकल्प नभएको एमाले नेताहरु दाबी गर्छन ।
नेकपा एमालेले नेपालगन्ज उपमहानगरपालिकामा २५ वर्षअघिको जित दोहो¥याउने गरी निर्वाचन अभियान शुरु गरेको हो । २०५४ सालको निर्वाचनमा मेयर र उपमेयर जितेको एमालेले त्यसयता वडाहरु बाहेक यहाँ कुनै पनि निर्वाचन जित्न सकेको छैन । केही समय अघिसम्म निर्वाचन जितिन्न भन्ने कमजोर मनस्थितीमा पुगेका नेता कार्यकता यसपटक निर्वाचन जित्नेमा ढुक्क रहेको दाबी गर्छन, नेकपा एमालेका जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपति । उनी भन्छन्–‘संगठन सुदृडीकरण नै हाम्रो मुख्य शक्ति हो । अर्कोकुरा बिरोधीले जतिसुकै आरोप लगाएपछि हाम्रो सरकारको नेतृत्वमा मधेसमा धेरै विकास भयो । त्यो मुल्यांकन जनताले गर्दै हुनुहुन्छ । नेपालगन्जमा एमालेको संक्रमणकाल सकियो, अब हामी जित्ने शक्ति बनेर उभिएका छौं ।’
एमालेले नेपालगन्जको मेयरमा यहाँका पुराना र जनाधार भएका नेता मिश्र र उपमेयरमा शान्ति ढकाललाई उम्मेदवार बनाएको छ । मिश्र पार्टीगत मात्र होइन स्वतन्त्र मतदातामाझ राम्रो पकड भएका नेताकारुपमा चिनिन्छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले र स्वयं मिश्रका लागि समेत प्रतिकुल अवस्था रहँदा रहँदै सुर्य चुनाव चिन्हबाट लडेका उनले झण्डै १६ हजार मत ल्याएका थिए ।
नेपालगन्ज लगायत मधेसमा एमालेको लहर छ भने मिश्र एमालेको केन्द्रीय सदस्य छन् जो संगठन बिस्तारमा सक्रियतापूर्वक लागेका छन् । एमालेका सामान्य कार्यकर्तासम्म भिजेका छन् ।
अघिल्लो पटक पराजय व्यहोरेका मिश्रलाई यसपटक सहानुभुती मत समेत आउने बताउँछन् एमालेका युवा नेता एवं वडा नं. १ का अध्यक्ष उम्मेदवार प्रमोद रिजाल । उनी भन्छन्–‘हामी २०७४ को भन्दा धेरै अनुकुल अवस्थामा छौं । तर यति भनेर हाइसन्चो मान्ने कुरा भएन । जित्नका लागि आवश्यक रणनीति बनाइरहेका छौं ।’
२०५४ सालको निर्वाचनमा युवा संघको नेता रहेका रिजालले यसपटक एमालेले नेपालगन्जमा २०५४ सालको जित दोहोरयाउने बताउँछन् । यसपटक नजिते फेरी जित्न नसकिने अठोट सहित एमालेका नेता कार्यकर्ताहरु चुनावी रणनीतिमा जुटेका छन् ।