नेकपा एमालेले पार्टीविरुद्ध लागेको र स्वतन्त्र उम्मेदवारी दिएको भन्दै ६ नेतालाई पार्टीबाट निष्कासित गरेको छ ।
प्रदेश अध्यक्ष राधाकृष्ण कुंडेलले सोमवार विज्ञप्ति जारी गर्दै कारवाहीबारे जानकारी दिएका छन् ।
एमालेले कपिलवस्तुका कुमार मधु बेल्बासे, पाल्पाका रामबहादुर रावल, पाल्पाका दिनेश रावल, प्युठानका टीकाबहादुर गुरुङ, रुपन्देहीका सञ्जय गुप्ता र बाबुलाल यादवलाई कारवाही गरेको छ ।यसअघि नेकपा एमाले रुपन्देहीले स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएका १५ जनालाई कारबाही गरेको छ ।
पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका १५ जनालाई साधारण सदस्य समेत नरहने गरी एमालेले निष्कासन गरेको छ ।
‘सिंगो पार्टीपंक्ति चुनावी अभियानमा केन्द्रित भइरहेको यस अवस्थामा केही पालिकामा पार्टी निर्णयका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका व्यक्तिहरूलाई आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीका सबै जिम्मेवारीबाट निष्कासन गरिएको,’ जिल्ला अध्यक्ष तेजेन्द्र केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।