नेपालगन्ज, ३ फागुन : नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा हुन लागेको टुर डे ठाकुरद्वाराको चौथो संस्करण नेपालगन्ज साइकल फेस्टिभल-२०२२ को सचिवालय उद्घाटन गरिएको छ । नेपाल वायुसेवा निगमको सुर्खेत रोडस्थित भवनमा सचिवालय स्थापना गरिएको छ । सचिवालयको मंगलबार नेपालगन्ज उप-महानगरपालिका उपप्रमुख उमा थापा मगरले उद्घाटन गरिन् ।
आगामी फागुन २० र २१ गते हुने फेस्टिभलमा बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्न साइकल यात्रा हुनेछ । सचिवालयको उद्घाटन गर्दै उपप्रमुख थापा मगरको नेपालगन्जका साइकल यात्रीले बाँके जिल्लाका पर्यटकीय क्षेत्रको प्रचार प्रसार र प्रबद्र्धनमा उल्लेखनी योगदान दिएको भन्दै क्लबको प्रशंसा गरिन् ।
कार्यक्रममा सहभागी हुने २० जना महिला सहभागी लाई ग्रीनवे को सहयोगमा रजिस्ट्रेसन शुल्क मिनाहा गरिने क्लब का कोषाध्यक्ष राजेस गुप्ता ले जानकारी दिनुभयो ।
क्लबका अध्यक्ष सतिश निरौलाका अनुसार बुधबारदेखि अनलाइन वा सचिवालयबाट साइकल यात्रामा सहभागी हुन फारम भर्न सकिने छ । निरौलाले अन्तर्राष्ट्रियस्तरमा प्रसिद्ध साइकल यात्राका इभेन्टहरुको दाँजोमा नेपालगन्ज साइकल फेस्टिभललाई पुर्याउने क्लबको लक्ष्य रहेको बताए ।