युएसएआइडीले गर्यो बाँकेमा सञ्चालित परियोजनाको स्थलगत निरीक्षण

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग अन्तर्गत युएसएआइडीका उच्च अधिकारीले बाँकेमा सञ्चालित परियोजनाको स्थलगत निरीक्षण गरेका छन्। युएसएआइडीको रेसिलिंएस तथा खाद्य सुरक्षा ब्यूरो उपसहायक प्रशासक माइक मिचेनेर, युएसएआइडी नेपालका कार्यबाहक उपनिर्देशक आमी मोर्गन, युएसएआइडी नेपालका आर्थिक वृद्धि कार्यालयका निर्देशक जेसन सुकसहितको टोलीले मंगलबार निरीक्षण गरेको हो।  

युएसएआइडीले बाँकेमा कृषि क्षेत्रमा गरेको लगानी र त्यसले किसानमा आएको परिवर्तनको बारेमा सम्बन्धित किसान र सरोकारवालासहित निरीक्षण गरिएको थियो। उक्त टोलीले बाँकेको राप्ती सोनारी ५ मा किसानले प्रयोग गरिरहेको आधुनिक कृषि यन्त्र तथा उपकरण, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ स्थित साहु राईस मिलले किसानको उत्पादनलाई गरिरहेको बजारीकरण र बैजनाथ गाउँपालिकास्थित गेट नेपालले उत्पादन गर्दै आएको उन्नत जातको बीउ विजन सम्बन्धी निरीक्षण गरेको हो।  

निरीक्षणका क्रममा उपसहायक प्रशासक मिचेनेरले बाँकेका किसानले कृषिमा गरेको कामको प्रशंसा गर्दै आफू दंग परेको बताए। ‘नेपाली किसानले गरेको काम प्रशंसनीय छ, म पनि उहाँहरुको काम देखेर उत्साहित भएँ,’ उनले भने। उपसहायक प्रशासक मिचेनेर समावेशी र बजारमा आधारित कृषि, उत्थानशिलता, पोषण, पानीमा पहुँचको सुरक्षा, स्वच्छता र सरसफाईलाई अगाडी बढाउन युएसएआइडीले नेपाल सरकार र जनतासँग कसरी साझेदारी गर्दछ भन्नेबारे अवलोकनका लागि पहिलो पटक नेपाल आएका हुन्।

अमेरिकी जनताको तर्फबाट नेपाललाई वैदेशिक सहायता प्रदान गर्न सक्षम भएको उनको दाबी छ। ‘यो मेरो पहिलो नेपाल भ्रमण हो र बाँकेमा यहाँका समुदायहरू तथा निजी क्षेत्रका साझेदारसँग भेटघाट उत्साहजनक भएको छ,’ उनले भने, ‘समावेशी र बजारमा आधारित कृषि, उत्थानशीलता, पोषण, पानीमा पहुँचको सुरक्षा, स्वच्छता र सरसफाइलाई अगाडी बढाउन यूएसएआइडीले नेपाल सरकार र जनतासँग कसरी साझेदारी गर्दछ भन्ने हेर्न नेपाल आएको हुँ।’ परियोजनाले नेपाललाई आफ्नो र विकासको गति बढाउन मद्धत गर्ने विश्वास गरे।

कोभिड–१९का कारण उत्पन्न अवस्था र चुनौतीका बाबजुद नेपाल सरकार र निजीक्षेत्र सँगको दरिलो साझेदारी र सहकार्यका कारण यूएसएआइडीको कार्यक्रमबाट उल्लेखनीय नतिजा हासिल गरिरहेको छ भन्नेमा आफूलाई खुसी लागेको उनले बताए। नेपालको कृषि विकास र आर्थिक वृद्धिमा सहयोगका खातिर साझेदारीलाई जारी राख्न आफूहरु उत्सुक रहेको मिचेनेरले सुनाए।

प्रतिक्रिया