निशु जोशी, नेपालगन्ज : बाँकेको राप्तिसोनारी गाँउपालिका वडा नं २ स्थित मधुईमा रहेको लक्ष्मी माध्यामिक विद्यालयमा ‘पढ्दै कमाउदै’ कार्यक्रम सुरु भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत देशभरका १ सय ४० विद्यालय सञ्चालन हुने यो कार्यक्रम राप्तिसोनारी गाँउपालिकामा यो विद्यालय छनौटमा परेको हो । शिक्षालाई सिपसंग, सिपलाई श्रमसंग, श्रमलाई उत्पादनसंग र उत्पादनलाई बजारसंग जोडी भविष्यमा उद्यमी, व्यवसायिक, सिपयुक्त एवम् स्वालम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित सरकारले कार्यविधि २०७८ जारी गरेको थियो । उक्त कार्यविधि अनुसार यो कार्यक्रम सुरु भएको हो ।
यो कार्यक्रम पहिलो चरणमा प्राविधिक शिक्षा अध्ययन गरीरहेका कक्षा ९ देखी १२ का विद्यार्थीहरुलाई लक्षित गरी विभिन्न कार्यक्रम सन्चालन गरिने राप्तिसोनारी २ लक्ष्मी माविका प्रधानाध्यापक लक्ष्मण प्रसाद आचार्यले जानकारी दिए । यसका लागि विद्यालयसंग भएको २५ विघा जग्गाको उपयोग गरीने उनले बताए । यो खाली जग्गामा आवश्यक भौतिक संरचना निर्माण गरिने छ ।
‘बाली विज्ञान विषय पढिरहेका बालबालिकालाई सुरुमा ५÷६ ग्रुपमा बाड्छौँ । त्यसपछि एउटा ग्रुपलाई एउटा काम दिइने छ –जस्तै बंगुरपालन, कुखुरापालन, तरकारी खेती आदि ।’ यसरी विद्यालयमा भएका उत्पादन होटेल, रेष्टुरेन्ट लगायतसंग समन्वय गरेर बजारीकरण गरिनेछ ।
‘यसरी भएको आम्दानीबाट ५० प्रतिशत विद्यालयको कोषमा र ५० प्रतिशत विद्यार्थीका लागि छुट्याइनेछ । यो रकम विद्यार्थीहरुलाई लोन दिन पनि प्रयोग गर्न सकिन्छ’ उनले भने ‘यसरी विद्यार्थीहरुले अन्य कक्षा र घरमा समेत सिप सिकाउने छन् । विद्यालयमा पढ्दै कमाउदै स्वरोजगार बन्नका लागि यो कार्यक्रमले अभिप्रेरीत गर्ने छ ।’ तर कार्यक्रम सन्चालनका लागि आर्थिक रुपमा समस्या रहेको प्रधानाध्यापक आचार्यले बताए । स्थानिय तह, सरकारी तथा गैरसरकारी निकाय वा कसैको सहयोग पाएमा कार्यक्रम सन्चालन गर्न सहज हुने उनको भनाई छ । तर यसै महिनादेखी यो कार्यक्रमको कार्यन्वयन सुरु हुने उनले बताए ।
यसका साथै खजुरा गाँउपालिकाको जनता नमुना मावि र कोहलपुरको बालशिक्षा माविमा गरी बाँकेका ३ वटा विद्यालयमा यो कार्यक्रम परिक्षणका रुपमा सन्चालन हुन लागेको हो । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले गत चैत्र ८ गते निर्णय गरि विद्यालय छनौट गरेको थियो ।
कार्यक्रम कार्यान्वयनका लागि लक्ष्मी माविमा मंगलबार अभिमुखीकरण कार्यक्रम गरीएको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक लगायत सरोकारवालासंग एकदिने अभिमुखीकरण गरीएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण प्रसाद आचार्यले जानकारी दिए । कार्यक्रममा मुख्य योजनाकार एवम् जनज्योती मावि बड्डीचौर सुर्खेतका प्रानाध्यापक नारायण सिग्देलले सहजीकरण गरेका थिए । उनको विद्यालय पढ्दै कमाउदै अभियानका लागि नमुना विद्यालय हो । यसका साथै पुर्व मन्त्री प्रेम बहादुर भण्डारीले यो कार्यक्रमले विद्यालयमै रोजगारी सृजना गर्ने बताए । कार्यक्रममा ८० जनाको सहभागिता रहेको थियो ।