निशु जोशी, नेपालगन्ज : आसन्न स्थानीय निर्वाचनमा बाँकेको राप्ती सोनारी गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । गाउँपालिकामा हाल नेपाली कांग्रेसको नेतृत्व छ । अबको निर्वाचनमा कसो पल्ला भारी होला ? त्यसको अनुमानन लगाउन सुरु भइसकेको छ । विभिन्न पार्टीका नेताहरु अध्यक्ष पदको लागि दौडधुप गर्न सुरु गरिसकेका छन् । यसैक्रममा नेकपा एमालेका नेताहरु पनि उम्मेदवारी दिने दौडधुपमा छन् ।
एमालेबाट राप्तीसोनारीमा रामदास थारु, तुलसीराम थारु, मनोज केसी र मदनकुमार वली गरी ४ जनाको चर्चा भइरहेको छ । यी चार जना आकांक्षीहरु आफू गाउँपालिकाको नेतृत्वका लागि सक्षम रहेको दाबी गर्छन् ।
रामदास थारु
रामदास थारु एमालेका पुराना र निष्ठावान नेता मानिन्छन् । उनी आफूलाई अहिलेसम्म धेरैपटक अवसर आएर पनि नपाएको व्यक्तिका रुपमा उल्लेख गर्छन् । बहुदल आउनुअघि नै राजनीतिमा सक्रिय भएर नेतृत्व गर्दै आएको उनी बताउँछन् । २०४३ मा कचानापुर ३ वडाध्यक्षमा निर्वाचित भएका उनी एमालेको गाविस अध्यक्षसमेत भइसकेका व्यक्ति हुन् । पटक–पटक संसदीय निर्वाचनमा आकांक्षी भएपनि अवसर नपाएको र पाए पनि थोरै मतले हार व्यहोर्दै आएका उनी यसपटक आफूले अवसर पाउने संभावना बढी रहेको उनी बताउँछन् ।
उनी लक्ष्मी मावि मदुईको व्यवस्थापन समितिको अध्यक्ष भएर समाजसेवामा आफूले दिएको योगदान जनताले सम्झिने दाबी गर्छन् । लक्ष्मी माविमा कृषि प्राविधिक विषयका लागि आफूले नै पहल गरेर उक्त विषय स्थापना भएको उनले बताए ।
रामदास भन्छन्, ‘जन्मभूमि, राजनीतिक कर्मथलो राप्ती सोनारी नै हो । अहिलेसम्म नेकपा एमालेबाहेक अन्त कतै लागेको छैन । ६३ वर्षको उमेरमा पुगेको मेरा अरु आकांक्षीहरु पनि म भन्दा उमर र अनुभवले पनि धेरै पछिका हुनुहुन्छ । त्यसै मैले यसपटक अवसर पाउँछु भन्नेमा ढुक्क छु ।’
तुलसीराम थारु
तुलसीराम थारु गत निर्वाचनमा वर्तमान राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुसँग एक हजार तीन सय ३६ मतान्तरसहित पछि परेका थिए । यसपटक उनी फेरि जनतामाफ आफ्नो परीक्षणका लागि जान चाहेको बताउँछन् ।
तुलसीराम पार्टीले आफूलाई पत्याउने आधारका रुमा संगठन निर्माणमा खटाइ र काम गर्दाको इमान्दारितालाई प्रस्तुत गर्छन् । बहुदल आएदेखि नै नेकपा एमालेको राजनीतिमा सक्रिय उनी २०५४ सालमा २० वर्षको उमेरमा बैजापुर २ को वडाध्यक्ष चुनिएका थिए । २०५५ मा पार्टी फुटेपछि एमालेमै रहेर, १४ वर्षसम्म गाविस सचिव, इलाका सदस्य, गाविस अध्यक्ष हुँदै, जिल्ला सदस्य निर्वाचित भएको आफ्नो अनसभव पनि बलियो रहेको तुलसीराम बताउँछन् ।
तुलसीराम अहिले पार्टीको अवस्था सुध्रेको साथै अरु पार्टीका आस्थावान मतदातले पनि यसपाली आफूलाई पत्याउने बताउँछन् । पारिवारिक मत नै ठूलो रहेको बताउँदै तुलसीरामले यसपटक आफ्नो प्रतिस्पर्धी लाहुराम थारुको कामलाई पनि तारो बनाउने मनस्थितिमा छन् । उनले भने, ‘संगठन बिस्तारमा खटिएको, विकास निर्माणमा जनतासँगै रहेको र मतदाताले विकल्प पनि खोजिरहेको अवस्थामा म आफूलाई बलियो दाबेदारका रुपमा देख्छुँ ।’
मनोज केसी
मनोज केसी हाल नेकपा एमालेको गाउँपालिका अध्यक्ष हुन् । उनी पार्टी अध्यक्षका हिसाबले पनि आफू स्थानीय तहको अध्यक्षका लागि पनि स्वतः दाबेदार रहेको बताउँछन् । २०५८ सालमा विद्यार्थी राजनीतिबाट एमालेको राजनीति सुरु गरेका केसी टोल कमिटी, वडा कमिटी, गाउँपालिका कमिटी सचिव लगायतका विभिन्न चरण पार गर्दै गाउँपालिका अध्यक्षसम्मको अनुभव हासिल गरिसकेको उनी बताउँछन् ।
पछिल्लो अधिवेशनबाट गाउँपालिका अध्यक्ष चुनिएका उनी आफूलाई युवा पुस्ताको नेतृत्व गर्दै युवाहरुको चाहनाअनुसार पनि प्रबल दाबेदार रहेको बताउँछन् । गाउँपालिकामा धेरै का मगर्न सकिने अवस्था रहेको बताउँदै केसीले प्रष्ट भिजनसहित तयार रहेको बताउँछन् ।
अहिलेको नेतृत्वले पूरा गर्न नसकेको वाचाहरु जनतासामू बुझाउन सक्ने, कमाण्ड गर्नसक्ने क्षमता रहेकोले आफू बलियो दाबेदार रहेको उनी बताउँछन् । उनी सामाजिक काम र जनताहरुलाई सरसहयोग गर्ने काममा र पार्टीको संगठन बिस्तारमा पनि खटिएको हिसाबले पार्टीले पतउने दाबी गर्छन् ।
‘जताले अहिले युवा पुस्ताको नेतृत्व खोजेका छन् भन्ने मलाई लाग्छ । त्यस हिसाबले म राप्तीसोनारीको् नेतृत्व गर्नका लागि योग्य व्यक्ति हुँ भन्ने लाग्छ र पार्टीले पनि मलाई अवसर दिन्छ भन्ने लाग्छ । यद्धपि पार्टीको निर्णय मान्न सधैं तयार हुन्छु,’ केसीले भने ।
मदनकुमार वली
मदनकुमार वली हाल राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष हुन् । उनी आफू वडामा गरेको काम नै आफ्नो दाबेदारीको मुख्य आधार भएको बताउँछन् । २०६२–६३ बाट विद्यार्थी राजनीतिबाट सुरु गरेका उनी अनेरास्ववियुको जिल्ला नेतृत्व हुँदै पार्टीको रजनीतिमा आएको एक अनुभवी युवा प्रतिनिधि भन्न रुचाउँछन् । हाल उनी एमालेको गाउँपालिका उपाध्यक्ष हुन् ।
राप्तीसोनारीमा एमालेबाट निर्वाचित भएका एकमात्र वडाध्यक्ष हुन् वली । अब आफूलाई वडाध्यक्षमै दोहोरिनुभन्दा गाउँपालिकाकै नेतृत्व लिन सक्षम भइसकेको बताउँछन् । पाँच वर्षमा आफूले स्थानीय तहको धेरै अनुभवहरु हसिल गरेको उनको भनाइ छ ।
वली गाउँपालिकाका अन्य वडाभन्दा राम्रो काम गरेको बताउँछन् । आफ्नो वडामा १५ किलोमिटर अरु वडाभन्दा राम्रो काम गरेको दाबी गर्छन् । आफ्नो अगुवाइमा प्राविधिक शिक्षाको काम पनि वडामा सफल भएको उनले बताए ।
जनता र स्थानीय कार्यकर्ताले पनि आफूलाई अध्यक्षको दाबेदारीका लागि आग्रह गरिरहेको उनको भनाइ छ ।
पार्टीभित्रबाट अहिले आकांक्षा व्यक्त गरिहरेका व्यक्तिहरु भन्दा आफ बलियो आकांक्षी रहेको उनको आँकलन छ । भन्छन्, ‘म युवा पुस्ताको प्रतिनिधि पनि हुँ । वडामा काम गरेर स्थानीय तहको अनुभव पनि लिएको छु । अरु आकांक्षीभन्दा म आफूलाई बलियो देख्छुँ ।’