बाँके जिल्ला फुटबल संघमा पुनः शाही

नेपालगञ्ज : बाँके जिल्ला फुटबल संघको अध्यक्षमा भोजराज शाही पुनः निर्वाचित भएका छन् । शनिबार भएको संघको साधारण सभा तथा निर्वाचनबाट शाही पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।

जिल्लाका १२ वटा क्लवमध्ये ११ वटा क्लवले मतदानमा भाग लिएका थिए । धम्बोझी क्लवले केन्द्रमा मतदान गर्ने भएकाले यहाँ भाग लिएको थिएन । ११ वटा क्लवमध्ये शाहीले नौ मत ल्याएका थिए । अध्यक्षका प्रतिस्पर्धी रोयल नेपालगञ्ज फुटबल क्लवका अध्यक्ष सूर्यमणि गौतमले दुई मत ल्याए ।
संघको उपाध्यक्षमा निर्मल चन्द, अनिल केसी र टोपेन्द्र खत्री निर्वाचित भएका छन् । सदस्यहरुमा गोवद्र्धनसिंह सम्झना, गोविन्दप्रसाद श्रेष्ठ, दिपेन्द्र घले, राजु तामाङ, अर्जुन खड्का, इन्द्रबहादुर राना, ईश्वर चन्द, दिपु राना, भोजबहादुर शाही र देवेन्द्र केसी निर्वाचित भएका छन् ।
साधारण सभा तथा निर्वाचनमा केन्द्रबाट पर्यवेक्षकका रुपमा भरत बुढथापा आउनु भएको थियो ।

साधारण सभाको प्रमुख अतिथि बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाह हुनुहुन्थ्यो । निर्वाचित अध्यक्ष शाहीले फुटबलको विकासका लागि सबैलाई समेटेर अघि बढ्ने उद्घोष गर्नु भएको छ ।

प्रतिक्रिया