कांग्रेस बाँकेको चुनावी तालमेलको निर्णय गर्ने अधिकार मातहतका निकायलाई – प्रबक्ता गिरी

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले स्थानीय अवस्था र आवश्यकता अनुसार चुनावी तालमेलको निर्णय गर्ने अधिकार मातहतका निकायलाई दिने निर्णय गरेको छ । आज बसेको पदाधिकारी बैठकले आफ्ना मातहतका निकायलाई स्थानीय अवस्था र आवश्यकता हेरेर निर्णय लिन निर्देशन दिएको पार्टी प्रबक्ता डिल्ली गिरीले बताए ।

नेपाली कांग्रेस केन्द्रको परिपत्र र पाँच दलीय सत्ता गठबन्धनको निर्णय अनुरुप बाँकेमा जिल्लास्तरीय गठबन्धन दलको बैठक निरन्तर बसेको थियो । सभापति नारायण प्रसाद गौडेलले चैत २० गतेदेखि बैशाख २ गतेसम्म निरन्तर बसेको सत्ता गठबन्धनको बैठकमा तालमेलबारे बृहतरुपमा छलफल गरेर गठबन्धनभित्रका पार्टीहरु स्थानीय अवस्था र आवश्यकताका आधारमा आपसी तालमेल गरेर निर्वाचनमा जाने र तालमेल गरेर जाँदा मित्रवत व्यवहार गर्ने सर्वसम्मत निर्णय गरेको बताए ।

सोही निर्णय अनुसार पार्टीको पदाधिकारी बैठकले मातहतका निकायलाई निर्देशन दिएको प्रबक्ता गिरीले बताए । “पार्टीको पदाधिकारी बैठकको निर्णय अनुसार प्रतिनिधिसभा क्षेत्रीय समितिहरुलाई मातहतमा रहेका निकायहरुलाई यथाशक्य छिटो जानकारी गराई सोही निर्णय अनुसार कार्य गर्न निर्देशन दिइएको छ,” प्रबक्ता गिरीले भने ।    

प्रतिक्रिया