९ मंसिरमा धारा नेपालगन्ज म्याराथन नवौँ संस्करण

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा हरेक वर्ष आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको नवौँ संस्करण आउँदो ९ मंसिरमा हुने भएको छ ।

म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले नवौँ संस्करणको मिति तय गरेको हो । सो सम्झौतापछि दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य भई देशले शान्तिपूर्ण राजनीति, विकास र समृद्धिको बाटोमा यात्रा तय गरेको सम्झनामा नेपालगञ्जमा म्याराथन हुँदै आएको हो ।

नवौँ धारा नेपालगन्ज म्याराथनका लागि १ भदौदेखि नै खेलाडी दर्ता खुला भइसकेको आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले बताए । यस वर्ष केही विधामा नगद पुरस्कार राशिमा वृद्धि गरिने उनले बताए ।

प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), १० किमी पुरुष-महिला खुला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८ देखि १२ वर्ष उमेर समूह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ ।

स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग-अलग स्पर्धा गराएर पुरस्कृत गरिनेछ । त्यसैगरी, बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग-अलग दौड (५ किमी) सञ्चालन गरिनेछ ।

नेपालगन्ज उपमहानगरपालिकाको गेटबाट सुरु भई कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भई सुरुवाती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पूरा हुन्छ । नेपालगन्ज म्याराथनको टाइटल स्पोन्सर प्रतिष्ठित व्यवसायिक घराना केएल दुगड ग्रुपको उत्पादन धारा तेल रहेको छ ।

नेपालगन्ज म्याराथन एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौँ पुरानो शहर नेपालगन्ज र उदीयमान शहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।


नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए । त्यसैगरी, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लानिवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भूमिराज राई, पाँचौँमा सेनाका भिमबहादुर साउद, छैठौँमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की, सातौँमा एपीएफकै किरणसिंह बोगटी र आठौँमा सेनाकै खडकबहादुर खड्का विजेता बनेका थिए । महिला हाफ म्याराथनतर्फ सातौँ र आठौँ संस्करणमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन ।

त्यसैगरी, पहिलोमा एपीएफकी कृष्णेश्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौँमा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने र छैटौँमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए । दुई संस्करण जित्ने खेलाडी कान्छीमाया कोजु र सन्तोषी श्रेष्ठ हुन् ।

प्रतिक्रिया