
नेपालगञ्ज: बाँकेको खजुरा गाउँ पालिका वडा नं ३ मा रहेको आदर्श माविमा समाजसेवी लिल बहादुर थापाले खेलकुदका सामग्री सहयोग गरेका छन् । समाजसेवी थापाका बुवा स्वर्गीय गज बहादुर सिजालीले स्थापना गरेको र आफू स्वयं अध्ययन गरेको उक्त विद्यालयमा विद्यार्थी खेलाडीको हौसलाको लागि खेलकुदका सामग्री सहयोग गरेका हुन् । खजुरामा २६ गते देखि हुन लागिरहेको राष्ट्रपति रनिङ सिल्ड तथा मेयर कप प्रतियोगितामा आवश्यक पर्ने पोसाक लगायतका सामग्री थापाले प्रदान गरेका हुन् ।
खजुरा गाउँ पालिका वडा नं ४ डि गाउँ निवासी हाल अमेरिका कर्मथलो बनाएका समाजसेवी थापाले नेपाल आएको समयमा विद्यालयमा भ्रमण गरी समय समयमा विद्यालयमा आफूले सक्ने सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए । ६० जना विद्यार्थी खेलाडीहरुलाई उक्त सामग्रीहरू प्रदान गरिएको पहलकर्ता पत्रकार खगेन्द्र दाहालले जानकारी दिए । वितरण कार्यक्रमा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नेत्र रानाभाटले विद्यार्थीको शैक्षिक तथा खेलकुदमा उल्लेख्य सहयोग गरेकोमा धन्न्यबाद ज्ञापन गरे ।
आदर्श माविका प्रधानाध्यापक राजेन्द्र सापकोटाले पूर्व विद्यार्थी समेत रहेका समाजसेवीको सामाजिक कार्यको प्रसंशा गरे । विद्यार्थीहरुलाई समाजसेवी थापाको जस्तो जीवनशैली सबैले अपनाउन पर्ने बताए। प्रधानाध्यापक सापकोटाले विद्यालयमा गरिने यस्तो सहकार्य निरन्तर प्रदान गरिदिन अनुरोध समेत गरे । वितरण कार्यक्रमा विद्यार्थी , शिक्षक लगायतको उपस्थिति रहेको थियो ।


