समाजसेवी थापाद्वारा विपन्न परिवारलाई सहयोग

गुल्मी : समाजसेवी लिल बहादुर थापाले गुल्मीको मुसिकोट नगरपालिका-१ पौँदीअमराई भिरबारीका एक विपन्न परिवारलाई राहत सामाग्री प्रदान गर्नुभएको छ ।

बाँकेको खजुरा गाउँपालिका डि गाउँ स्थायी घर भई हाल वैदेशिक रोजगारीका लागि अमेरीकामा रहनुहुने समाजसेवी थापाले उक्त ठाउँका तिल बहादुर सुनारको परिवारलाई खाद्यान्न, लत्ताकपडा, स्टेशनरी सामाग्री सहयोग गर्नुभएको हो । जन्मघर बाँकेको खजुरा भएपनि उहाँले देशका विभिन्न जिल्लाहरुमा रहेका दुखि पिडित तथा साहारा विहिनहरुलाई आफुले सक्ने जति सहयोग गर्दै आइरहनुभएको छ ।

तिल बहादुर लामो समयदेखि मृगौला रोगका कारण विस्तारामै थलिएका छन् । ४ सन्तान र श्रीमती सहित बस्दै आएका उनलाई दैनिक जिविको चलाउन समेत गाह्रो भएको र उपचारमा आर्थिक अभाव भएको बारे जिटिभि नेपालले भिडियो सामाग्री प्रशारण गरेको थियो ।

उक्त भिडियो हेरेपश्चात थापाले उक्त परिवारलाई ४ महिनालाई पुग्ने खाद्यान्न लगायतका सामाग्री प्रदान गर्नुभएको हो । उक्त सहयोग सामाग्री मंगलबार परिवारमै पुगेर हस्तान्तरण गरिएको छ ।

जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले राहत सामाग्री घरमै पुगेर हस्तान्तरण गर्नुभएको हो । राहत सामाग्री पाएपछि बिरामी तिल बहादुरकी श्रीमती भगवती सुनारले श्रीमान बिरामी परेपछि आफु काममा समेत जान नपाएर बिहान बेलुका के खाने भन्ने स्थिति रहेको बेला सहयोग गरेकोमा समाजसेवी थापा प्रति धन्यवाद व्यक्त गर्नुभयो ।

“छोराछोरी ससाना छन्, श्रीमान बिरामी भएपछि काममा पनि जान पाएको छैन, छरछिमेकीले १२ माना ल्याईदिनुहुन्थ्यो त्यसैले छाक टार्दै आएका थियौँ ।” उहाँले आर्थिक अभावका कारण श्रीमानको उपचार गर्न समेत नसकेको भन्दै सहयोगका लागि सबैसंग आग्रह समेत गर्नुभयो ।

राहत सामाग्री वितरण कार्यक्रममा पुग्नुभएकी मुसिकोट नगरपालिकाका नगरउपप्रमुख गंगा श्रेष्ठले सुनार परिवारको अवस्था अत्यन्तै दयनीय रहेको भन्दै विदेशमा श्रम गरेर आफ्नो खर्च नराखी यस्ता दिन दुखीहरुलाई सहयोग गर्ने समाजसेवी लिल बहादुर थापा प्रति धन्यवाद व्यक्त गर्नुभयो ।

त्यस्तै मुसिकोट नगरपालिका वडा नं १ का वडा सदस्य प्रतिमा केसीले कमाएर दिने अभिभावक नै विस्तारामा थलिएर आर्थिक अभावमा उपचार गर्न नपाएको र दैनिक जिविकोपार्जनमा समेत कठिनाई भईरहेको अवस्थामा यति धेरै सहयोग गर्ने सहयोगी थापा प्रति धन्यवाद व्यक्त गर्नुभयो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा समाजसेवी रामु केसी, शिक्षिका सपना घिमिरे, जिटिभि नेपालका सम्पादक सागर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

साथै सो अवसरमा मुसिकोट नगरपालिका वडा नं १ बगाहाका तुल बहादुर सुनारले पठाउनुभएको ५ हजार रुपैयाँ र स्थानीय आमा समुहले ५ हजार रुपैयाँ सुनारको उपचारका लागि सहयोग गरेका छन् ।

प्रतिक्रिया