
काठमाडौं : शुक्रवार राती जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पका कारण त्यस क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले दुःख व्यक्त गरेको छ ।
महासंघले विज्ञप्ति प्रकाशित गरी भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना र आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गरेको हो ।
साथै सबै सदस्य उद्योग वाणिज्य संघहरू, उद्यमी व्यवसायीहरू र व्यवसायिक संघ संस्थाहरूलाई उद्दार र राहतमा सहयोग गर्न आव्हान समेत गरेको छ ।
‘भूकम्प प्रभावित जनताहरूको सहयोगका लागि महासंघले आफ्नातर्फबाट पहल गरी सकेको छ भने राहत र उद्धार कार्यलाई तिव्रताका साथ अगाडि बढाउन सरकार समक्ष अनुरोध गर्दछ ।’, विज्ञप्तिमा भनिएको छ ।
प्रभावित जनताहरूलाई आर्थिक लगायत लत्ताकपडा, खाद्यान्न, औषधि, पानी जस्ता अत्यावश्यक सामग्रीहरू सहयोग गर्न महासंघले आफ्ना सबै सदस्य संघ, संस्था, उद्योग प्रतिष्ठान, उद्यमी व्यवसायीहरूमा अपिल गरेको छ ।