रुपैडिहा नाका हुदै मुर्रा राँगा आज भित्रिदै , कुन ठाउँमा कति राख्ने ?

प्रियास्मृति ढकाल, नेपालगन्ज : चर्चा पाएको लामो समयपछि भारतले उपहार स्वरुप दिएका राँगा नेपालगन्जको रुपैडिहा–जमुनाहा नाकाबाट नेपाल भित्र्याउन लागिएको छ । भारतले पठाएको १५ वटा मुर्रा जातको राँगा रुपैडिहा–जमुनाहा नाकाबाट बुधवार (आज) भित्र्याउन लागिएको राष्ट्रिय पशु प्रजनन् कार्यालय गौघाट बाँकेका निमित्त प्रमुख खिमानन्द खनालले बताए । उनका अनुसार नेपाली प्राविधिक टोली भारत गएर राँगाको परीक्षण मापदण्ड पुरा गरेसँगै भारतले राँगा हस्तान्तरण गरेको हो ।

भारतले १५ वटा राँगा पठाइसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह प्रवक्ता तथा वरिष्ठ पशु चिकित्सक डा. तपेन्द्र प्रसाद बोहराले बताए । उनका अनुसार बुधवार नेपालगन्जस्थित रुपैडिया–जमुनाहा नाकाबाट उक्त मुर्रा राँगा भित्रिने छन् । ती राँगालाई पशु क्वारेन्टाइन चेक पोष्ट अन्तर्गतको होल्डिङयाड नेपालगन्जमा एक रात आराम गराएर विहीबार प्रजनन् केन्द्रमा पठाउने तयारी छ । त्यहीअनुसार होल्डिङयाडलाई व्यवस्थित पारिएको पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख वरिष्ठ पशु चिकित्सक डा.विनय कर्णले जानकारी दिए ।

पशु क्वारेन्टाइनमा ती राँगाको स्वास्थ्य चेकजाँच गरिनेछ । ती राँगा नेपालगन्ज ल्याएपछि विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाट बाँके, पोखरा र लहानमा राखिने छ । गौघाट, पोखरा, र लहानबाटै वीर्य उत्पादन गरिनेछ । सोही स्थानबाट वीर्य संकलन र संरक्षण गरिने छ । १५ वटा मुर्रा जातको ती राँगामध्ये बाँकेमा ३, पोखरामा ७ र लहानमा ५ राखिनेछ । उन्नत जात मुर्रा राँगा नस्ल सुधारका लागि भारतबाट उपहार स्वरूप ल्याउन लागिएको हो । पशु सेवा विभागका वरिष्ठ पुश विकास अधिकृत एवम् सूचना अधिकृत चन्द्र ढकालका अनुसार भारतबाट मुर्रा जातका राँगा ल्याउने प्रयास २०७३ सालदेखि नै सुरू भएको थियो । खासगरी देशमा रहेको रैथाने भैंसीहरूको नस्ल विकास गर्नलाई भारतबाट उच्च नस्लको मुर्रा राँगा ल्याउन लागिएको ढकाल बताउँछन् । उनका अनुसार मुर्रा जातका राँगा र स्थानीय भैंसीलाई क्रस गरेपछि त्यसबाट जन्मिने बच्चापछि गएर दूध दिने भएपछि उक्त भैंसीको दूध उत्पादकत्व वृद्धि हुन्छ ।

‘हाम्रो स्थानीय भैंसीहरूले एक वेतमा सरदर आठ सय लिटर दूध दिन्छन् भने मुर्रा भैंसीले पन्ध्र सय लिटर दिन्छ,’ ढकालले भने । यसरी दूधको उत्पादनमा वृद्धि हुने भएपछि यसले किसानलाई प्रत्यक्ष फाइदा पुग्ने उनी बताउँछन् । अहिले ल्याउन लागिएको मुर्रा राँगा भारतमा भएका राँगाहरूमध्ये उच्च प्रजनन मान क्षमता रहेको भनिएको छ । यी राँगाहरूबाट जन्मेको पाडीहरूबाट दूधको उत्पादकत्व एक वेतमा ३५ सय लिटर सम्म पुगेको ढकाल बताउँछन् । ‘लाहान, पोखरा र गौघाट गरी तीन वटा ठाउँमा राष्ट्रिय पशु प्रजनन् केन्द्र छन् र अब यी राँगाहरूबाट प्रति वर्ष २ लाख वीर्य किसानको गोठगोठमा पुर्याउँछौं’ ढकालले भने । गौघाट प्रजनन् कार्यालयमा अहिले ८ वटा उन्नत जातका राँगाबाट वीर्य संकलनको काम भइरहेको छ ।

महिनामा करिव २० हजार भैसीलाई कृतिम गर्भाधाण गराउन सक्ने वीर्य उत्पादन भइरहेको छ । त्यसैगरी प्राकृतिकरुपमा गर्भाधाणका लागि ५ वटा उन्नत जातका राँगा पनि कार्यालयसँग छन् । ती राँगाले गौघाट आसपाससहित बाँके बर्दियामा नस्ल सुधारमा काम गर्दै आएका छन् । कार्यालयले अहिले राँगा र बोकाबाट प्राकृतिक र कृत्रिम गर्भाधाणबाट नस्ल सुधारको सेवा दिँदै आएको निमित्त प्रमुख खनालले बताए । उनका अनुसार वहरका लागि दुई तीन महिनाभित्रै कृत्रिम वीर्य संकलनको काम हुने पनि उनले जानकारी दिए । कार्यालयसँग अहिले ५ वटा वहर छन् ।

प्रतिक्रिया